विराटनगर । अपहरण आरोपमा जेलमा रहेका अभिषेक गिरीलाई मोरङ कारागार ल्याउने चर्चा चलेसँगै कैदीबन्दीले विरोध गरेका छन् । मोरङ कारागारका चौकीदार नविन राईलाई सोमबार झुम्का कारागार स्थान्तरण गरिएपछि कैदीबन्दीले गिरीलाई ल्याउन सक्ने संभावना बढेको भन्दै उनका विरुद्ध मंगलबार नाराबाजी गरेका हुन् ।
मोरङ कारागारका निमित्त प्रमुख रामप्रसाद पोखरेलले अभिषेक गिरीको सरुवा भएर आउने हल्लाकै भरमा कैदीबन्दीले विरोधका लागि नाराबाजी गरेको बताउनुभयो । डिल्लीबजार कारागारमा रहेका गिरीलाई कारागार व्यवस्थापन विभागले मोरङ जिल्लामा सरुवा गरेको थियो । तर, सरकार परिवर्तनसँगै जहाँबाट सरुवा गरियो त्यहिं ल्याउने निर्णयको विरोध भएपछि अहिले स्थगीत गरिएको छ ।
गिरी यसअघि मोरङ जिल्लाबाटै डिल्लीबजार कारागार सारिएका थिए। मोरङ जेलबाटै फिरौती र व्यवसायीसँग असुली धन्दा चलाएको आरोपमा २०७४ चैत २३ गते डिल्लीबजार कारागार सरुवा गरिएको थियो। गिरीलाई नेपाली कांग्रेसका नेताहरूको दबाबमा मोरङ कारागार सरुवा गरिएको बताइन्छ।
साधारणतः एक पटक सरुवा भइसकेको कैदीलाई पुनः त्यही ठाउँमा सरुवा नगर्ने नियम भए पनि विभागले गिरीलाई मोरङ पठाउने निर्णय गरेको थियो । त्यसको आलोचना भएपछि तत्काललाई स्थगीत गरिएको थियो । तर, कैदीबन्दीले भने चौकीदार राईलाई सोमबार झुक्का स्थान्तरण गरेपछि नयाँ चौकीदार नतोकिएपछि गिरी आउनसक्ने भन्दै विरोध सुरु गरेका छन् । राईको सरुवा भएपछि किरण गुरुङलाई निमित्त चौकीदार तोकिएको थियो ।
गिरीसँगै जेलमा रहेका सहयोगी राजु श्रेष्ठलाई पनि मोरङ कारागार स्थानान्तरण गर्ने निर्णय गरिएको छ । गत भदौ १७ गतेको निर्णयअनुसार गिरी र श्रेष्ठलाई मोरङ कारागार सरुवा गर्ने भनिएको थियो । नौ सयभन्दा बढी कैदीबन्दी रहेको मोरङमा कारागारमा मासिक रुपमा धेरै ठूलो धनराशीको चलखेल हुने गर्दछ । जेलभित्र चौकीदारको आम्दानी राम्रो हुन्छ । बाहिर बजार मूल्यमा खरिद गरिएका सामाग्री पाँचगुणासम्म मूल्य बढाएर कारागार भित्र चौकीदारले व्यापार गर्ने गरेका छन् ।