विराटनगर रानी नाकामा बढ्यो चहलपहल, प्रवेश गर्ने भारतीयसँग छैन कोरोनाको डर

विराटनगर रानी नाकामा बढ्यो चहलपहल, प्रवेश गर्ने भारतीयसँग छैन कोरोनाको डर

विराटनगर । सरकारले सीमा नाका खुल्ला गर्ने निर्णय गरेसँगै विराटनगर रानी नाकामा चहलपहल बढेको छ । नजिकीएको चाडपर्वको किनमेल गर्नेदेखि भारतबाट नेपाल घुम्न वा अन्य प्रयोजनका लागि प्रवेश गर्नेहरुको संख्या बढेसँगै रानी नाकामा भीड बढेको हो ।

सरकारकाले सीमानाका खुल्ला गर्ने निर्णय गरेपछि मंगलबार रानी नाकाबाट २० वटा भारतीय नम्बर प्लेटका साना सवारी नेपाल प्रवेश गरेका छन् । विराटनगर महानगरपालिकाले रानी नाकामा राखेको ढाटमा ‘विदेशी सवारी साधनमा लगाएको पूर्वाधार उपयोग कर’ बुझाएर मंगलबार दिउँसो १ बजेसम्म २० वटा कार प्रवेश गरेका छन् । सोमबारदेखि नै भारतीय नागरिक बोकेर भारतीय नम्बर प्लेटका साना कार नेपाल प्रवेश गर्न थालेका थिए । रानी ढाटका इन्चार्ज सुनिल पाण्डे लामो समयपछि रानी ढाटमा केहि चहलपहल बढेको बताउनुभयो ।

नाका खुल्ला गर्ने निर्णयले कोरोना संक्रमणको जोखिम बढ्ने चिन्ता रहेपनि गत साउन यता भने नेपाल प्रवेश गर्ने भारतीय नागरिकमध्ये एकजना पनि संक्रमित फेला परेका छैनन् । रानी हेल्थडेस्कका सहायक प्रमुख सुरेन्द्र यादवका अनुसार साउनमा ६२३ जना प्रवेश गरेकामध्ये ३९६ जनाको स्क्रिनिङ्ग गरिएको थियो । भदौमा ४२६ मध्ये २७२ जनामा स्क्रिनिङ्ग गरिएको थियो । एन्टिजेन परीक्षण गरिएकामध्ये साउनमा ४ जना र भदौमा ४ जनामा पोजेटिभ देखियो । तर, पोजेटिभ देखिने नेपाल प्रवेश गर्ने भारतीय नागरिक नभएर वारपार गरिरहने नेपाली नागरिक थिए । साउन अगाडी फाट्टफुट्ट भारतीय नागरिकहरुमा समेत पोजेटिभ देखिपछि फर्काउने गरिएको थियो । तर, त्यसयता आजसम्म नेपाल प्रवेश गरेका भारतीय नागरिकमध्ये एकजनामा पनि संक्रमण पुष्टि नभएको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा हेल्थडेस्कसम्म पुगेर सोमबार १३ जना र मंगलबार दिउँसो १ बजेसम्ममा १५ जनाको कोभिड–१९ को एन्टिजेन परीक्षण गर्दा नेगेटिभ नै आएकोे हेल्थडेस्कका सहायक प्रमुख यादवको भनाई छ । खोप लगाएका कारण हुनसक्छ चालु आर्थिक वर्षमा नेपाल प्रवेश गर्ने एकजना पनि भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि नभएको यादवको बुझाई छ ।
सीमानाकाबाट प्रवेश खुल्ला नहुँदा पैदल मात्रै नेपाल आउने गरेका भारतीय नागरिक सोमबारदेखि कार लिएर आउन थालेका छन् । यस्तो अवस्थामा जोखिम बढ्ने भएकोले हेल्थडेस्कमा थप जनशक्ति व्यवस्थापन गरेर स्क्रिनिङ्ग गर्नुपर्ने देखिएको छ । यसैगरी चाप बढ्दै गएका कारण सुरक्षाकर्मीको संख्या समेत थप गर्नुपर्ने संभावना बढेको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले सहायक नाकालाई कडाई गरेर मुख्य सीमा नाकामा आवश्यक जनशक्ति बढाउने बताउनुहुन्छ । उहाँले थप व्यवस्थित गर्ने विषयमा दुईदिन पछि डीसीसीएमसीको बैठक बसेर केहि निर्णय लिइने बताउनुभयो ।
भन्सार कार्यालय बुधनगर आईसीपी क्षेत्रमा सरेपछि मालवस्तु बोकेर आउने मालवहाकले रानी नाकाबाट प्रवेश पाउने गरेका छैनन् । रानी नाका हुँदै भारतीय बजार जोगबनीमा किनमेलका लागि जाने नेपाली र भारतबाट प्रवेश गर्नेहरुको घुँइचो पछिल्लो दिनमा भने थेगिनसक्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्