विराटनगरका पसलमै भेटिन्छ म्याद गुज्रेको सामाग्री, सचेत भएर किन्न उपभोक्तालाई वाणिज्यको आग्रह

विराटनगरका पसलमै भेटिन्छ म्याद गुज्रेको सामाग्री, सचेत भएर किन्न उपभोक्तालाई वाणिज्यको आग्रह

विराटनगर । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले पछिल्लो चार दिनमा विराटनगरका १५ वटा पसलमा अनुगमन गरेको छ । संयुक्त बजार अनुगमनको टोलिले खाद्यन्न तथा खाद्य वस्तु बिक्री गर्ने पसल केन्द्रीत गरेको हो ।

चाडपर्व लक्षित अनुगमनका क्रममा विराटनगरका तीनवटा पसलमा कैफियत फेला पारिएको थियो । यी पसलमध्ये बिक्रीका लागि राखिएको सामानको म्याद गुज्रेकोदेखि खरिद तथा बिक्री बिल जारी नगरेकासम्म पाइए । यस्ता व्यापारीलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम ठाउँको ठाउँ नै जरिवाना समेत गरिएको थियो ।
अनुगमन समितिले विराटनगर–११ स्थित पञ्चमुखीचौकमा रहेको सिद्धि ट्रेडर्सलाई खरिद तथा बिक्री बिल जारी नगरेको पाइएपछि ५ हजार रुपिँया जरिवाना गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त प्रमुख सन्तोष पोखरेलले जानकारी दिनुभयो । यसैगरी विराटनगर–६ स्थित केशलिया मार्गमा रहेको शिवम् ट्रेडिङ्ग र राधेराधे स्टोर्सलाई १०÷१० हजार रुपिँया जरिवाना गरिएको छ । शिव ट्रेडिङ्गबाट ६ हजार २५० मूल्य बराबरको म्याद गुज्रेको सोनापापडी, पापड, फ्यान्टा, जस्ता सामान जफत गरि नष्ट गरिएको थियो ।

विराटनगर–५ मा बरगाछीमा रहेको अविनास ट्रेडर्सले बिक्री अयोग्य रेडबुल राखेको पाइएपछि ५ हजार १०० मूल्य बराबरको नष्ट गरिएको थियो । विराटनगरमा पन्ध्र पसलमा अनुगमन गर्दा दुईवटा पसलमा म्याद गुज्रेको सामान फेला पारेर १३ हजार ८०० बराबर नष्ट गरिएको छ ।
बजार अनुगमनका क्रममा फेला पारेका यस्ता वस्तु नष्ट गरिएपनि चाडपर्वको मौकामा उपभोक्तालाई कुनै न कुनै रुपमा व्यापारीले ठग्दै आएका छन् । अनुगमन समितिले बढी भीड हुने स्थानमा विशेष निगरानी बढाउन नसके धेरै उपभोक्ताले अस्वस्थ्यकर सामाग्री खरिद गर्नुपर्ने अवस्था आउने देखिन्छ ।

चाडपर्व लक्षित बजार अनुगमनका लागि वाणिज्यको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसहितको टोलि निरन्तर क्रियाशिल रहेको छ । नियमित अनुगमनमा रहेको टोलिले उपभोक्तालाई सामाग्री खरिद गर्दा सचेत हुनुपर्ने आग्रह गरेको छ । व्यापारीले उपभोक्ताको स्वास्थ्यमा समस्या उत्पन्न गर्ने किसिमको सामानको बिक्री गर्ने गरेकोले उत्पादन मिति, मूल्य लगायतका विषयमा ध्यान दिएर मात्रै सामान किन्न आग्रह गरिएको हो ।
चाडपर्वको समयमा बढी किनमेल हुने स्थानमा म्याद गुज्रेका सामाग्री हुनसक्ने भएकोले उपभोक्ताले सचेत हुनुपर्ने वाणिज्य कार्यालयका निमित्त प्रमुख पोखरेलको भनाई छ । उपभोक्ताले सचेत भएर मात्रै सामाग्री खरिद गर्न र बढी मूल्य लिन खोजेको आशंका लागेमा तत्काल सम्बन्धित कार्यालयमा सम्पर्क गर्न अनुरोध समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्