वडा प्रहरी कार्यालय छेउबाटै लुटिए विराटनगरका व्यापारी (ओबी अपडेट)

वडा प्रहरी कार्यालय छेउबाटै लुटिए विराटनगरका व्यापारी (ओबी अपडेट)

विराटनगर । बाईकमा आएका ३ हतियारधारीको समुहले विराटनगर–७ स्थित वडा प्रहरी कार्यालय छेउमै रहेको एक गार्मेन्ट पसल लुटेका छन् ।

दिउँसो करिब ११ बजेको समयमा आएका हतियारधारीको समुहले वडा प्रहरी कार्यालय दक्षिण जयदीप इलेक्ट्रोनिक्ससँगै रहेको कोटेक्स ट्रेडिङको पसल लुटपाट गरेका हुन् । उनीहरुले पेस्तोल देखाएर नगद र मोबाईल लुटपाट गरेको पसलका सञ्चालक मनोज तोदीले बताए । उनले हतियारधारी समुहले पसलबाट १२ हजार नगद र ४ वटा स्मार्टफोन लुटेर लगेको जानकारी दिए ।

‘हामी २ जना थियौं । एकजना म र एकजना अकाउन्टेन्ट बहिनी । अचानक ३ जना व्यक्तिहरु पसलभित्र छिरे’, उनले भने, ‘पसलमा छिरेपछि एकजना गेटमा उभियो, अर्को टेबलमाथि चढ्यो र अर्कोले गल्ला खोलेर पैसा निकाल्यो । मेरो २ वटा, बहिनीको एउटा र मेरो भाईको एउटा गरि ४ वटा मोबाईल लुटेर लगे ।’

लुटपाटको क्रममा हतियारधारी समुहले पेस्तोलको पछाडिपट्टिको भागले पसलका सञ्चालकको टाउकोमा समेत प्रहार गरेका छन् । प्रहारबाट घाईते उनको विराट नर्सिङ होममा उपचार गरिएको छ । उनको टाउकोमा ४ वटा टाँका समेत लागेको छ । लुटपाटको क्रममा गल्लामा पैसा थोरै देखेपछि समुहका एकजनाले टाउकोमा प्रहार गरेको सञ्चालकका आफन्त पर्ने सुशील कुमार तोदीले बताए । प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयन गरिरहँदा पनि दिनदहाडै पसल लुटिएपछि आसपासका व्यापारी व्यावसायीहरु समेत त्रसित बनेको उनले जानकारी दिए ।

लुटपाट भएलगत्तै वडा प्रहरी कार्यालय ‘क’ का डिएसपी दीपक कार्की र मोरङ प्रहरीका एसपी जनार्दन जिसी नेतृत्वको टोलीले घटनास्थलमा पुगेको थियो । प्रहरीले मुचुल्का उठाएर घटनाको अनुसन्धान थालेको जनाएको छ । प्रहरीका अनुसार लुटपाट गर्ने समुहको खोजी कार्य तीव्र पारिएको छ । यसबाहेक प्रहरीले घटनाबारे थप केहीपनि खुलाउन मानेको छैन् । लुटपाट भएको स्थान भने वडाप्रहरी कार्यालय ‘क’ देखि मात्र २० मिटर दक्षिणमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्