विराटनगरमा ७६० बट्टा नक्कली चुरोट बरामद भएपछि चार सरकारी निकायको अनुसन्धान चासो

विराटनगरमा ७६० बट्टा नक्कली चुरोट बरामद भएपछि चार सरकारी निकायको अनुसन्धान चासो

विराटनगर । नक्कली स्टिकर प्रयोग गरी अन्तःशुल्क वापतको कर छल्ने गिरोह सक्रिय भएको पाइएपछि एकै पटक राज्यका चार निकायले अनुसन्धान सुरु गरेका छन् । विराटनगर–४ स्थित गुरुङ किरानामा नक्कली स्टिकर प्रयोग गरेको ७६० बट्टा चुरोट फेला परेपछि चार सरकारी निकायले गिरोहको खोजी सुरु गरेको हो ।

गोर्खालरी प्रा.लि.हेटौंडाले उत्पादन गरेर बजारमा बिक्री वितरण गर्ने चुरोट क्याप्टेन चुरोट गोर्खा लहान प्रा.लि.को नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, आन्तरिक राजश्व कार्यालय, नेपाल प्रहरी र बौद्धिक सम्पति चोरी गरेको आरोपमा सम्बन्धित कार्यालयहरुले अनुसन्धान सुरु गरेका हुन् । कन्चनबारीको गुरुङ किराना पसलका सञ्चालक चन्द्र गुरुङलाई तत्काल वाणिज्य कार्यालयले तत्काल २० हजार रुपिँया जरिवाना गरिसकेको छ ।

संयुक्त बजार अनुगमन समितिले शुक्रबार नक्कली चुरोट बरामद गरेको थियो । त्यसपछि आन्तरिक राजश्व कार्यालय विराटनगरले प्रारम्भिक अनुसन्धान सुरु गरेको विराटनगरका प्रमुख बिमल सापकोटाले जानकारी दिनुभयो । गुरुङको पसलमा भेटिएको चुरोट कहाँबाट आएको भनेर प्राथमिक स्रोतले डिलर बारे जानकारी नदिएपछि नेपाल प्रहरीले समेत अनुसन्धान सुरु गरेको छ । अनुगमनमा कैफियत फेला परेको चुरोटको खरिद बिल समेत फेला परेको छैन । खरिद बिल बिनाको नक्कली चुरोटका विषयमा वाणिज्य कार्यालयले समेत यसलाई अनुसन्धानकै पाटोमा राखेको हो ।

अन्तःशुल्क ऐन अनु्सार बरामद गरेको चुरोटको बिगो र दुईसय प्रतिशत जरिवाना आन्तरिक कार्यालयले पसल सञ्चालकलाई भराउने तयारी गरेको छ । यदि खरिद गरेर ल्याएको स्थान पसल सञ्चालकले नखुलाएमा पसल सञ्चालक चन्द्र गुरुङ नै यसका मुख्य दोषी ठहरिने राजश्व कार्यालयका प्रमुख सापकोटाले जानकारी दिनुभयो । त्यस बाहेक अर्को कम्पतिको ब्राण्ड चोरीको आरोप समेत चुरोटसँग जोडिएका गुरुङलाई लाग्ने छ ।

वाणिज्य कार्यालयका निमित्त प्रमुख सन्तोष पोखरेलका अनुसार तत्काल बिलबिजक जारी नगरेको आरोपमा किराना पसल सञ्चालकलाई जरिवाना भरिएको छ । त्यस बाहेक अन्य निकायसँग समन्वय गरेर कारवाहीका लागि प्रक्रिया बढाईसकिएको छ । वाणिज्यसँगै, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय समेत अनुगमनमा रहेका कारण नक्कली स्टिकर टाँस गरेर बजारमा भित्र्याइएको चुरोटको प्रारम्भिक उत्पादन स्रोत पहिचानमा चासो बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्