काठमाण्डौं । मान्छे पासो लागेर मरेको डोरी महँगोमा बिक्री हुन्छ भन्ने अन्धविश्वासमा एक महिलाको ज्यान लिइएको छ । डोरी बिक्री गरेर लाखौं कमाउने लोभमा तीन जनाको समूहले महिलाको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखा, बानेश्वरले ललितपुर महानगरपालिका–१७, सुनाकोठीमा ४५ वर्षीया कमला तामाङको हत्या गरेको अभियोगमा मकवानपुर राक्सिराङ गाउँपालिका–५ प्याङचे टोलका २३ वर्षीय सविन प्रजा र १८ वर्षीया प्रविना प्रजा माझी, मोरङको पथरीशनिश्चरे–८ मंगलबारेका २० वर्षीय सुमन मगरलाई पक्राउ गरेको हो ।
महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङका अनुसार उनीहरुले डोरी बिक्री हुने अफवाहमा विश्वास गरेर तामाङको घाँटीमा डोरीले कसेर हत्या गरेको पाइएको छ । हत्यापछि मृतकको गहना र मोबाइलसमेत लुटेर फरार रहेको अवस्थामा पक्राउ गरेर अनुसन्धान थालिएको उनले बताए ।