सभामुख प्रदेश सरकारको सारथी बनेको आरोप, विपक्षी दलको चर्को आलोचना

सभामुख प्रदेश सरकारको सारथी बनेको आरोप, विपक्षी दलको चर्को आलोचना

विराटनगर । आफु अनुकुल संविधान बिश्लेषण गर्दै आएको प्रदेश १ सरकारका लागि सभामुख नै प्रमुख सारथी बनेको भन्दै विपक्षी दलहरुले चर्को आलोचना गरेका छन् ।

संसद छल्दै आयु लम्ब्याउँदै आएको प्रदेश सरकारलाई सभामुखले रुलिङ गर्न नसकेको भन्दै विपक्षी दलहरुले आलोचना गरेका हुन् । आईतबार बसेको प्रदेशसभा बैठकमा बिशेष समय लिएर बोल्दै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङबोले सभामुखको रुलिङको अभावमा प्रदेश सरकारले संविधान अपव्याख्या गर्दै आएको बताए । उनले सभामुखले आफ्नो दायित्व निर्वाह गर्न नसक्दा सत्तापक्षलाई सरकारको आयु लम्ब्याउन सजिलो भएको आरोप लगाए ।

सरकारले गरेन भनेर लाचारी प्रस्तुत गर्ने होईन नि । सरकारलाई रुलिङ गरेर ठाउँमा ल्याउने हो नि सभामुख ज्यूको दायित्व त । तर, सभामुख ज्यूबाट त्यो भुमिका निर्वाह हुने संकेत देखिएन’, उनले भने, ‘त्यसैले विनम्रतापुर्वक आग्रह छ सभामुख ज्यू, दशैंको मुखमा सदन बोलाएर दशैं आयो भन्न पाईंदैन । हामी सदनमा दिनै छलफल गर्न तयार छौं । सभामुख ज्यूले पनि सरकारलाई संविधानभन्दा बाहिर जान दिनुहुँदैन ।’

नेता आङबोले सत्तापक्षलाई संविधान बमोजिम विश्वासको मत लिएर मात्र सरकार चलाउन अन्यथा मार्ग प्रशस्त गर्न आग्रह समेत गरे । ‘तपाईहरु नै सरकार चलाउनु । तर, सदनको विश्वास लिएर चलाउनुस । तपाईहरु संविधान विपरित थप केही हप्ता वा केही दिन जबरजस्ती आफ्नो आयु बढाउने प्रयासमा हुुनुहुन्छ । यसले राम्रो सन्देश प्रवाह हुँदैन्’, उनले भने, ‘भोलि सत्तापक्ष र प्रतिपक्षका रुपमा अरु केहीसमय हामी नै हौं रहने । त्यसैले सरकारले संविधानको अर्को सिङ लगाएर संविधानको अपव्याख्या नगरोस ।’

बिशेष समय लिएर बोल्दैै नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले कार्यव्यवस्था परामर्श समितिको बैठक नबोलाईकनै संसद बैठक आव्हान गरिएको भन्दै आपत्ति जनाए । उनले सभामुख पनि संविधान मिच्ने बिषयमा बराबरको हिस्सेदार रहेको आरोप लगाए ।

आईतबार बसेको बैठकले भने केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७८ दफावार छलफलका लागि न्याय प्रशासन तथा विधायन समितिमा पठाएको छ । प्रदेशसभाको अर्को बैठक असोज २५ गते सोमबार दिनको १ बजेका लागि बोलाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्