करुवा उत्पादनमा युवा पुस्ता आकर्षित हुँदै

करुवा उत्पादनमा युवा पुस्ता आकर्षित हुँदै

पाल्पा, ३१ असोज:पाल्पालीको पहिचान बोकेका करुवा उत्पादनमा युवा पुस्ता आकर्षित हुँदै गएका छन् ।

सीप र पुँजीको अभावमा विस्तारै लोप हुने अवस्थामा पुगेका पाल्पाली करुवाको उत्पादनमा पछिल्लो समय युवा पुस्ता आकर्षित हुँदै गएका हुन् ।

पाल्पाली करुवा उद्योगको सीप नयाँ पुस्तामा हस्तान्तरण हुन थालेपछि यसको उत्पादनमा समेत वृद्धि हुन थालेको छ ।

करुवा बनाउने आवश्यक तालिम र यसको उद्योग सञ्चालनका लागि बीउ पुँजीलगायत सहयोग पाएपछि यहाँका युवा करुवा उत्पादनमा लागिपरेका छन् । तानसेन नगरपालिका, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र ग्रामीण आर्थिक विकास सङ्घ (रेडा)द्वारा सञ्चालित तालिम पाएपछि चार जना युवा मिलेर करुवा उद्योग स्थापना गरेका छन् ।

तानसेनका नगरप्रमुख अशोककुमार शाहीले पाल्पाको पहिचान बोकेको करुवा लोप हुनबाट जोगाउन सीप, बीउ पँुजी लगायतको सहयोग गरिएको बताउनुभयो । तानसेन नगरपालिकाले बेरोजगार युवालाई छनोट गरी तालिम, बीउ पुँजीलगायतका कार्यक्रमपछि युवा पुस्ता अहिले करुवाको उत्पादनमा सक्रिय भएका छन् । आवश्यक पुँजीको अभावमा करुवा व्यवसाय सञ्चालन गर्न नसकिरहेको अवस्थामा नगरपालिकाले यो व्यवसाय गर्न चाहने युवालाई बंैकबाट सहुलियत दरमा ऋण प्रदान गरी साना उद्योग स्थापनामा सहजीकरण गरिएको नगरप्रमुख शाहीको भनाइ छ ।

बगनासकाली गाउँपालिका– ६ यम्घाका खिमबहादुर विश्वकर्मासहित चारजना साथी मिलेर तानसेन नगरपालिका– १ गैरागाउँमा करुवा उत्पादन गर्ने उद्योग स्थापना गर्नुभएको छ । अहिले ती युवाद्वारा स्थापित उद्योगबाट काँचका करुवा, थाल, गिलासलगायतका वस्तु प्रशस्त उत्पादन हुँदै आएको उहाँले बताउनुभयो । १२ वर्ष विदेश बसेर फर्किएका विश्वकर्मा स्वदेशमा केही काम गर्न पाउँदा उत्साहित हुनुभएको । सीप, बीउ पुँजीलगायत सहयोग पाएपछि आफूहरु उद्योग स्थापना गरी काम गर्न थालेको उहाँले बताउनुभयो ।

कोरोना सङ्क्रमणको उच्च जोखिमले उत्पादन र उत्पादित साम्रगी बिक्रीमा केही समस्या आए पनि अव यसको बजार विस्तार हुने आशामा आफूहरु रहेको व्यवसायीले जनाएको छ । तानसेनका पुराना करुवा व्यवसायी केशवमान बज्रचार्यले पाल्पाको पहिचान बोकेको करुवा चिनो रूपमा लैजाने चलन रहेको बताउनुभयो । सीप, प्रोत्साहन तथा कच्चापदार्थको अभावमा पाल्पाली करुवा उद्योग सङ्कटमा परेको थियो ।

तानसेनको टक्सार टोलमा पहिला २५ भन्दा बढी करुवा उद्योग सञ्चालनमा रहेपनि पछिल्ला वर्षमा तीन ओटामा सीमित भएको थियो । उद्योग कम हुँदा माग अनुसार करुवाको आपूर्ति हुन सकेको थिएन । करुवा बनाउने सीप सिक्न र उद्योग सञ्चालन गर्न इच्छुक व्यक्तिलाई छनोट गरी तीन महिनाको करुवा बनाउने तालिम दिएको थियो । तालिमपछि कोही व्यक्तिगत र कोही सामूहिक रुपमा करुवा उत्पादन गरिरहेका छन् । पाल्पाली हस्तकलाबाट निर्मित करुवाको अभाव अहिले हटेको ग्रामीण आर्थिक विकास सङ्घ (रेडा)का कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताउनुभयो ।

पाल्पाको तानसेनमा नेवार, विश्वकर्मा जातिमा मात्र करुवा उत्पादन गर्ने सीप छ । करुवा उत्पादन गर्ने सीपलाई अन्य जाति तथा समुदायमा हस्तान्तरण हुन सकेको छैन । सामाजिक र साँस्कृतिक समस्या कारण अन्य जातिमा यो सीप पुस्तान्तरण हुनसकेको छैन । पाल्पाली करुवाको आठ दशकदेखिकै इतिहास छ । कार्यकारी निर्देशक कार्कीका अनुसार सीप हस्तान्तरण हुन नसक्दा देश विदेशमा प्रख्याति कमाएको पाल्पाली करुवा अहिले सङ्कटमा छ । कच्चा पदार्थ र कामदार नपाउनु उद्योगको अर्को समस्या भएको उहाँको भनाइ छ । “अन्यत्र मेसिनले बनाउने गर्छन्”, उहाँले भन्नुभयो, “यहाँका उद्योगमा हातैले बनाइन्छ र कुँदिन्छ ।”

उद्योगी उत्तमकुमार बज्राचार्यका अनुसार करुवा उत्पादनका लागि आवश्यक पर्ने कच्चा धातुको अभाव छ । काम गर्ने कामदार पाइँदैनन् । “सबै विदेश जान चाहन्छन्”, उहाँले भन्नुभयो, “यहाँ काम गर्न कोही खोज्दैनन् ।” पाल्पाली ब्रान्डेड करुवामा कोइला, काँच, तामा र मैनको आवश्यकता पर्छ । तर, कच्चा सामग्री नै जिल्लामा पाइँदैन । कोइला वनमा पोल्न समस्या छ । भारतबाट समेत कच्चा पदार्थ आउन नसक्दा करुवा उद्योग सङ्कटमा परेको गुनासो उद्योगीको छ ।

साढे दुई सय वर्षअघि भक्तपुरबाट बसाइँ सरेर तानसेनको टक्सारटोलमा आई धातुका मुद्रा बनाउन सुरु गरिएको इतिहास पाइन्छ । पछि गएर करुवा र अन्य सामान तयार हुँदै आएका छन् । यहाँ उत्पादित करुवा जापान, अमेरिका, बेलायत, थाइल्यान्डलगायतका देशमा पुग्छन् । बाह्य पर्यटक मात्रै होइन, आन्तरिक पर्यटकलाई पनि करुवा निर्माणले आकर्षण थपेको छ । जोकोही एकपटक पाल्पाली करुवा उत्पादन गर्ने उद्योगमा पुग्ने गर्छन् । यहाँका शाक्य, वज्राचार्यहरू करुवा उत्पादन गर्छन् । पछिल्लो समय ३ हजार ५ सयदेखि १० लाख ५० हजार मूल्य पर्ने करुवा पाल्पामा बनिरहेका छन् । युवा पुस्तालाई करुवा उद्योगमा टिकाइ राख्न सकेमा यो उद्योगको संरक्षणमा टेवा पुग्ने विश्वास स्थानीय व्यवसायीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्