कर्सियाको सिटिजन्स बैंक र विराटनगरको गार्मेन्ट पसल लुटने समुह एउटै

कर्सियाको सिटिजन्स बैंक र विराटनगरको गार्मेन्ट पसल लुटने समुह एउटै

विराटनगर । विराटनगर–८ का ३२ बर्षीय श्याम मुखिया नै मोरङको धनपालथान–४ स्थित सिटिजन्स बैंक र विराटनगरको मेनरोडस्थित गार्मेन्ट पसल लुटपाट प्रकरणका मुख्य योजनाकार रहेको खुलेको छ ।

व्यावसायिक प्रयोजनका लागि लिएको कर्जा तिर्न नसकेपछि भारतबाट पेसेवर अपराधी ल्याएर विराटनगर–८ बलुवाहीका मुखियाले बैंक लुटेको प्रहरी अनुसन्धानबाट खुलेको हो । बैंक लुट्नुअघि उनले नै संगठित रुपमा विराटनगरको मेनरोडस्थित वडा प्रहरी कार्यालय छेउमा रहेको कोटेक्स ट्रेडिङ्गको पसल लुटेको पुष्टि भएको छ । व्यावसायमा नोक्सान व्यहोरेर कर्जा तिर्न नसक्ने अवस्थामा पुगेपछि मुखियाले बैंक लुट्ने योजना बनाएको प्रहरीले जनाएको छ । ‘करिब ५ वर्षअघि मुखियाले बैंकबाट १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको व्यावसाय सुरु गरेका थिए’, अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ‘तर, कोभिड लगायतका कारणले व्यवसाय प्रभावित भएपछि मुखियामाथि ऋणसँगै ब्याजको भार समेत थपिँदै गएपछि विकल्प खोज्ने क्रममा उनले बैंक लुटने योजना बनाएका रहेछन् ।’

बैंक लुटपाट प्रकरणमा संलग्न ९ जनामध्ये ३ जनालाई भने मोरङ प्रहरीले पक्राउ गरि सार्वजनिक गरिसकेको छ । प्रहरीले विराटनगर–८ का ३२ बर्षीय श्याम मुखिया, भारतको अररिया जिल्लास्थित सेखपुरा–५ का २८ बर्षीय सुनिल यादव र गोराहा–४ का ३० बर्षीय विजय सहनीलाई पक्राउ गरि गत बुधबार सार्वजनिक गरेको होे । को २५ प ३८९९ नम्बरको मोटरसाईकलबाट भारततर्फ भाग्ने क्रममा धनपालथान–२ खयरबना चोक नजिकबाट तिनै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ३० बर्षीय सहनीलाई बाँया तिघ्रामा गोेली लागि घाईते अवस्थामा भारततर्फ भाग्ने क्रममा पक्राउ गरिएको हो । उनको रंगेली अस्पतालमा उपचार भईसकेपछि जिल्ला ल्याईएको हो ।

यसरी बनेको थियो लुटको योजना

व्यावसाय घाटामा जान थालेपछि विकल्पको खोजी गर्दै विराटनगरका श्याम मुखिया भारतको बिहारस्थित आफ्नो मावली पुगेका थिए । बैंकबाट लिएको १० लाखको ऋण र त्यसको ब्याज भारबाट छुटकारा पाउन उनले त्यहीँ बसेर लुटपाटको योजना बनाएका थिए । भारतमै पेसेवर अपराधीहरुको सङ्गत गरेर मुखियाले आवश्यक हातहतियार सहित लुटपाटको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । मुखियाले प्रहरीलाई दिएको बयान अनुसार लुटको १५ दिन अगावै भारतीय अपराधीहरु नेपाल आएर लुटको लागि उपयुक्त ठाउँ हेरेर फर्केका थिए । असोज २२ गते मेनरोडस्थित वडा प्रहरी कार्यालय छेउको गार्मेन्ट पसल पनि सोही समुहले लुटेका हुन् ।

‘विराटनगर मेनरोडस्थित कोटेक्स ट्रेडिङको पसलबाट १२ हजार नगद र ४ वटा स्मार्टफोन लुटेर लगेपछि बैंक लुटने योजना बनाएका थियौं । पसलमा अनुमान गरे बमोजिमको पैसा नभेपछि बैंक लुट्ने योजना बनेको हो’, मुखियाले प्रहरी बयानमा भनेका छन् ।

गार्मेन्ट पसल लुटपाटको क्रममा गल्लामा थोरै नगद देखेपछि आक्रोशित बनेका हतियारधारी समुहले पेस्तोलको पछाडिपट्टिको भागले पसलका सञ्चालक मनोज तोदीको टाउकोमा समेत प्रहार गरेका थिए । प्रहारबाट घाईते उनको विराट नर्सिङ होममा उपचार गरिएको थियो ।

बैंक लुटपाटअघि मुखिया सहितको सो समुह मोरङ धनपालथानसँगै जोडिएको जहदा गाउँपालिकाको एक कृषि फर्ममा बस्दै आईरहेका थिए । प्रहरीका अनुसार यो समूहको एकजना बर्षदिन अघिदेखि नै सो फर्ममा कार्यरत थिए । अररिया गोराहा–४ का ३० वर्षीय विजय सहनी एक वर्षदेखि फर्ममा कार्यरत रहेको प्रहरी अनुसन्धानले देखाएको छ । सहनी भने भारतबाट हत्या आरोपमा फरार भएका अभियुक्त हुन् । उनीमाथि सामान्य झगडा हुँदा भारतमा आफ्नै छिमेकी शिवशंकर सहनीको गोली हानेर हत्या गरेको आरोप छ ।

यस्तो थियो घटना

असोज २५ गते सोमबार अपरान्ह करिब पौने ४ बजेको समयमा धनपालथान–४ स्थित कर्सिया बजारको सिटिजन्स बैंकमा लुटपाट भएको थियो । बैंकभित्र प्रवेश गरेका ७ जना हतियारधारीको समुहले बैंक लुटेका थिए । प्रतिकार गर्न खोज्दा बैंकका सुरक्षा गार्डलाई उनीहरुले गोली हानी घाईते बनाएका उनीहरुले करिब २१ लाख ७० हजार रुपैयाँ लुटेर लगेका थिए । तर, घटना भएको केही बेरमै स्थानीयको सहयोगमा प्रहरीले उनीहरुमध्ये ३ जनालाई पक्राउ गरेपनि लुटको रकम भने हालसम्म फेला परेको छैन् ।

प्रहरीले पक्राउ प्रतिवादीहरुको साथबाट को २५ प ३८९९ नम्बर भएको १५० सिसिको निलो पल्सर मोटरसाईकल, पक्राउ सुनिल यादवले प्रयोग गरेको १ राउण्ड लोेडेड गोली सहितको कटुवा पेस्तोल, घटनास्थलमा नपड्किएको राउण्ड १ थान र खोका १ थान बरामद गरेको छ । यस्तै घाईते गार्ड सितल कुमालको शरीरबाट निकालिएको गोली १ थान र घाईते विजय सहनीको साथबाट नोकिया कम्पनीको १ थान सादा मोबाईल समेत बरामद गरिएको छ । लुटको रकम र अन्य फरार अभियुक्तहरुको भने खोजी कार्य भईरहेको मोरङ प्रहरीका एसपी जर्नादन जिसीले बताए । सिसिटिभी फुटेज अनुसार बैंकभित्र ७ जना लुटेरा प्रवेश गरेको देखिन्छ । ‘सोधपुछको क्रममा अन्य २ जना बाहिर नै बसिरहेका थिए भन्ने बुझिएको छ’, उनले भने, ‘लुटको रकम र घटनामा संलग्न अन्य फरारहरु खोजी कार्यका लागि प्रहरी परिचालन गरिसकिएको छ ।’

लुटपाटका क्रममा गोली लागि गम्भीर घाईते भएका बैंकका सुरक्षा गार्ड रङ्गेली नगरपालिका–२ का ४० बर्षीय सितल कुमाल भने हाल खतरामुक्त छन् । उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार गरिएको छ । कुमाल भने नेपाली सेनाको अवकाश प्राप्त हवल्दार हुन् ।

मुद्दा दर्ताको तयारी

बैंक लुटपाट प्रकरणका मुख्य योजनाकार सहित ९ जनामध्ये ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरुमाथि सङ्गठित अपराध, हातहतियार, ज्यान मार्ने उद्योग र डकैतीको अभियोगमा मुद्दा दर्ताको तयारी भईरहेको छ । अदालत खुलेपछि मुद्दा दर्ताको तयारी भईरहेको इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरिक्षक अनमोल खड्काले बताए । भारतको अररिया गोराहा–४ बस्ने विजय सहनीको हकमा भने मुद्दाको फैसला अनुरुप नेपालमा सजाय काटेपछि मात्र उनलाई भारतीय प्रहरीको जिम्मा लगाइने इन्स्पेक्टर खड्काले जानकारी दिए ।

‘लुट प्रकरणमा पक्राउ अभियुक्तबारे दुवै पक्षबिच आवश्यक समन्वय भईसकेको छ’, उनले भने, ‘सहनीले यताको सजाय पुरा गरेपछि मात्र उनलाई भारतीय प्रहरीको जिम्मा लगाउँछौं । भारतीय प्रहरीले सहनीमाथि भने हत्या अभियोगमा अर्को मुद्दा चलाउँछ भन्ने बुझिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्