बैंकको ब्याजदर वृद्धिप्रति उद्योग परिसंघको विरोध

बैंकको ब्याजदर वृद्धिप्रति उद्योग परिसंघको विरोध

विराटनगर । कात्तिक महिनाको १ गतेदेखि लागू हुने गरि बैंकहरूले बढाएको ब्याजदरको उद्योग परिसंघ प्रदेश १ ले विरोध गरेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नरलाई गम्भीर ध्यानाकर्षण पत्र पठाउँदै उद्योग परिसंघका अध्यक्ष भीम घिमिरेले बैंकहरूले ब्याजदरमा अत्यधिक वृद्धि गरि उद्योग व्यवसाय र उत्पादनमा नै प्रहार गर्न खोजेको आरोप लगाएका छन् ।

दुई वर्षदेखि कोभिडको मारमा परिरहेको र तरलताको आभावको सामना गरिरहेको उद्योग क्षेत्र तथा उपभोक्ताको क्रय शक्ति कमजोर हुँदै गएको अवस्थामा ब्याजदर परिवर्तन गर्दा देशको अर्थतन्त्रमा नकारात्मक असर पुग्ने घिमिरेको भनाइ छ ।

‘उपभोक्ताको क्रयशक्ति समेत ह्रास हुँदै गएको वर्तमान अवस्थामा बजार आर्थिक क्षेत्र नराम्रो सँग प्रभावित भइरहेको अवस्था सबै मा जगजाहेर छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘यी सबै कुरालाई बेवास्ता गर्दै बैंकहरुले ब्याजदरमा अत्यधिक वृद्धि गरि उद्योग व्यवसाय र उत्पादनमा नै प्रहार गर्न खोजेको स्पष्ट देखिएको छ ।’

मुलुकको आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न पनि ठूलो लगानीको आवश्यकता रहेको बेलामा लगानीलाई नै प्रभावित गर्नेगरी बैंकको व्याज वृद्धि कुनै हालतमा पनि अनुकुल मान्न नसकिने परिसंघाके दाबी छ । व्याजदर वृद्धिले वस्तु तथा सेवा उत्पादन गर्ने उद्योगहरू उर्जा, पर्यटन, कृषि, शिक्षा जस्ता आधारभूत उद्योगको लगानीमा प्रत्यक्ष असर गर्ने र त्यसको प्रभाव उत्पादन रोजगारी, आधारभूत सेवा र निकासीमा पनि नकारात्मक ढंगले पर्ने परिसंघको दाबी छ ।

‘बैंकहरूले प्रतिस्पर्धीको भावना झल्किने गरि अलगअलग ब्याजदरमा वृद्धि गरिरहेको सूचना प्रवाह हुनु मुलुकमा आर्थिक अराजकता त होइन भन्ने जस्तो देखिन्छ साथै विगतमा ब्याज दर सिंगल डिजिटमा एकरुपता हुने गरि राख्ने गरि भएको भद्र सहमति तोडिएका छन्’, पत्रमा उल्लेख छ, ‘जसले आर्थिक उदण्डता, अराजकताको प्रस्ट झल्को देखाएको छ जुन आर्थिक औद्योगिक हित विपरीत छन् ।’

नेपालको औद्योगिक विकासको मूख्य बाधक पहिलाको जÞमानामा गाउँको साहु महाजन जहिले पनी धनी रहने र गाँउवासी जहिले पनि गरिव नै रहने परम्पराको प्रत्याभूत हुनेगरी हाल वैंक वित्तीय संस्थाले मात्र कमाउने र अन्य क्षेत्रको विकास नै हुन नपाउने नीतिले मुलुकको आर्थिक अवस्था चलायमान र पूँजी निर्माण हुन् नदिने मुख्य कारण नै बैंक वित्तीय संस्था रहेको छ । ‘एकै छिनमा तरलताको अभाव देखाई ब्याज बड़ाऊँने, एफडिमा ब्याज बढी दिएको भन्ने देखाई लगानी उत्पादन क्षेत्रको ब्याजसमेत वृद्धि गरि लगानी कर्ता, जनता र देश डुबाउन यस्तो खेल कहिलेसम्म चल्छ ?’, पत्रमा प्रश्न गरिएको छ, ‘देशमा औद्योगीकरणको बाधक रहेको र अस्थिर तरिकाले हरेक महिना यसरी ब्याज घटाउने बढाउने खेलमा उद्योगहरू चाहीं धराशाही हुने र सरकार र केन्द्रीय बैंकले अरू बैंकलाई पाल्ने काम मात्र गरि सरकारले यी नयाँ जमानाका साहु महाजन विकास गर्नेतर्फ लागेको हामीलाई महसुस हुन थालेको छ ।’

बैंकिङ क्षेत्रमा देखिएको अस्थिर, अराजक र अनुत्पादित कार्यलाई नेपाल राष्ट्र बैंकले रोक्नुपर्ने परिसंघको माग छ । ‘बैंकिङ क्षेत्रको अविभावक संस्थाले तत्काल हस्तछेप गरि पूर्व भएका भद्र सहमति तथा छलफलका निर्णयअनुकूल बैंकको ब्याजदरलाइ सिंगल डिजिटमा नबढ्ने गरि कायम गर्न र मुलुकको आर्थिक अवस्था सकारात्मक नभएसम्म यो व्यवस्थालाई निरन्तरता राख्ने पहल गर्न हामी हार्दिक आपिलका साथ गम्भीर ध्यानाकर्षण गर्दछौं,’ राष्ट्र बैंकलाई लेखेको पत्रमा उल्लेख छ ।

उक्त पत्रको बोधार्थ प्रधानमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्री, प्रदेश १ का मुख्यमन्त्रीसहित आर्थिक मामिला तथा योजनामन्त्री, उद्योग पर्र्यटन वन तथा वातावरणमन्त्रीलाई पनि दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्