विराटनगर विमानस्थल जलमग्न, हवाई उडान ठप्प

विराटनगर विमानस्थल जलमग्न, हवाई उडान ठप्प

विराटनगर । केही दिनयता जारी निरन्तर बर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेको छ ।

सोमबार बेलुकादेखि जारी हावाहुरी सहितको मुुसलेधार बर्षाका कारण केशलिया खोला र नहरको जलस्तर उच्च भएसँगै विमानस्थलमा डुबानमा परेको हो । विमानस्थल डुबानमा परेसँगै विराटनगर–काठमाण्डौं हवाई उडान पुर्ण रुपमा अवरुद्ध भएको छ । काठमाण्डौं जानका लागि टिकट काटेर बसेका हजारौं यात्रुहरु समेत अलपत्र परेका छन् । विमानस्थलले पानीको निकासका लागि आवश्यक प्रयास गरिरहेको भएपनि खासै उपलब्धि भने हाँसिल हुन सकेको छैन् । अत्याधिक बर्षाका कारण हाल विमानस्थलको धावनमार्ग, टर्मिनल भवन, ट्याक्सी वे र कर्मचारी क्वाटर लगायतका क्षेत्रमा डेढ फिटसम्म पानी जमेको छ । क्वाटरमा बस्ने कर्मचारी र तिनका आफन्त समेत विस्थापित भएका छन् ।

मौसमी खराबीका कारण मंगलबार पनि काठमाडौं–विराटनगर हवाई उडान प्रभावित भएको थियो । मंगलबार विराटनगरबाट काठमाडौं उडान हुनुपर्ने बुद्ध एयर र श्री एयरको १–१ वटा जहाजले उडान भर्न सकेका थिएनन् । यसबाहेक मंगलबार साँझ काठमाडौंबाट विराटनगरतर्फ आउँदै गरेको सौर्य एयरको जहाज पनि बिचबाटै पुनः काठमाडौं नै डाइभर्ट गर्नुपरेको थियो । काठमाडौं–विराटनगर बिच २१ वटा नियमित उडानको तालिका भएपनि मंगलबार भने मात्र ७ वटा उडान भएको विराटनगर विमानस्थलका प्रमुख उत्सव राज खरेलले बताउनुभयो ।

धावनमार्गमा समेत डेढ फिटसम्म पानी जमेका कारण आज थप उडान हुन नसकेको विराटनगर विमानस्थलले जनाएको छ । थप बर्षात नभए प्राविधिक टोलीद्वारा विमानस्थलको रनवे लाइट, साइनेज, एक्स–रे मेसिन र जेनेरेटर लगायतका यन्त्र उपकरणको निरीक्षण तथा अवस्था बिश्लेषण गरेर मात्र उडान सुरु गर्ने तयारी रहेको विमानस्थल प्रमुख खरेलले जानकारी दिनुभयो ।

हवाईसेवा मार्फत् काठमाण्डौं जान चाहने यात्रुहरुले भने भद्रपुर विमानस्थललाई विकल्पका रुपमा प्रयोग गर्न सकिने जनाईएको छ । भद्रपुर विमानस्थलको अवस्था भने सामान्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्