विराटनगर । अत्याधिक बर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि रोकिएको हवाई सेवा शनिबारबाट पुनः सुचारू हुने भएको छ ।
लगातारको वर्षापछि आएको बाढीका कारण मंगलबारदेखि अवरुद्ध भएको उडान शनिबारबाट पुनः सुचारु हुने भएको हो । विमानस्थलको धावनमार्ग, पार्किङ एरिया र ट्याक्सी वे जलमग्न भएपछि मङ्गलबारदेखि विराटनगरबाट हुने सबै उडान तथा अवतरण स्थगित गरिएका थिए ।
तर, हाल सबै समस्या समाधान भईसकेको हुनाले शनिबार बिहान ७ बजेबाट पुनः उडान सुचारु हुने विराटनगर विमानस्थलका प्रमुख उत्सवराज खरेलले बताए । उनले विमानस्थलको सबै उपकरणको चेकजाँच नसकिएकोले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मात्र उडान हुने जानकारी दिए ।
विमानस्थलको सबै उपकरण चेकजाँचपछि मात्र नियमित तालिका अनुसार उडान हुने विमानस्थलले जनाएको छ । विराटनगर विमानस्थलमा बुद्ध एयरले दैनिक ९ वटा र यति एयरले दैनिक ५ वटा उडान गर्दै आएको छ । यस्तै सौर्य एयर र श्री एयरलाइन्सले ४–४ र गुण एयरले १ उडान गर्दै आएको छ ।