विराटनगरमा ७१ वर्षे इतिहास बोकेको मोरङ व्यापार संघ निष्क्रिय

विराटनगरमा ७१ वर्षे इतिहास बोकेको मोरङ व्यापार संघ निष्क्रिय

विराटनगर ।

देशकै पहिलो उद्योग वाणिज्य संघको रुपमा ७१ वर्ष अगाडी स्थापना भएको मोरङ व्यापार संघको ६५ औं साधारणसभा अन्यौलमा परेको छ । दुईवर्षे कार्यकाल गत असारमै समापन भएपनि तीन महिनासम्म पनि साधारणसभाको नयाँ मिति तय हुन नसकेको हो ।

गत साउन १७ र २६ गते साधारणसभाका लागि महासचिव अनिल साहले सूचना जारी गरेपनि स्थगीत भएको थियो । त्यसपछि साधारणसभाको अर्को मिति अझैसम्म तय भएको छैन । विराटनगरका उद्योगी-व्यवसायीको आस्थाको केन्द्रको रुपमा रहेको संघका गतिविधि पछिल्लो समय सुस्ताउँदै गएका छन् ।

नेतृत्व असक्षमताका कारण उद्योगी-व्यवसायीको साझा संस्था संघ यतिबेला निष्प्रभावी बन्दै गएको भन्दै संघमा आवद्ध सदस्यहरुले रोष प्रकट गर्न थालिसकेका छन् । मोरङ व्यापार संघलाई निष्क्रिय बनाउन ६४ औं साधारणसभाले निर्वाचित गरेका अध्यक्ष प्रकाश मुन्दडाको भूमिका रहेको आरोप सदस्यहरुले लगाउने गरेका हुन् ।

कारण, संघको अध्यक्षको जिम्मेवारीमा हुँदाहुँदै नेपाल उद्योग परिसंघ प्रदेश १ समितिमा मुन्दडाले आवद्धता लिईसकेका छन् । उद्योग वाणिज्य महासंघ मातहत रहेको संस्थालाई निष्क्रिय बनाएर अर्को संस्थाका गतिविधिमा अध्यक्ष सक्रिय बन्ने गरेको भन्दै कतिपय सदस्यले माथिदेखिको हस्तक्षेप आवश्यक रहेको औल्याउन थालेका हुन् । मोरङ व्यापार संघका अध्यक्ष मुन्दडासहित पूर्व अध्यक्षहरु पवन सारडा र महेश जाजु समेत नेपाल उद्योग परिसंघमा आवद्ध भएका छन् ।

संघको मुख्य भूमिकामा रहेका व्यक्तिहरु परिसंघमा आवद्ध भएपछि त्यसको प्रभाव नेपाल उद्योग वाणिज्य महासंघलाई समेत परेको छ । किनकी वाणिज्य महासंघ मातहतको मोरङ व्यापार संघ निस्क्रिय बनेको छ ।

अध्यक्ष मुन्दडाले कसैले आरोप लगाउने कुरालाई आफूले मुख थुन्न नसक्ने बताएका छन् । आफ्नो असक्षमता नभएर देशकाल र परिस्थितको बाध्यताले संघको साधारणसभा समयमै गर्न नसकेको मुन्दडाको भनाई छ । साधारणसभा आयोजना गर्नका लागि छैठपछि कार्यकारिणी समितिको बैठक डाक्ने मनस्थिति रहेको अध्यक्ष मुन्दडाले जानकारी दिनुभयो । कोरोना संकट लगायतका कारणहरुले स्थगीत भएका हो, मुन्दडाले भन्नुभयो-मोरङ व्यापार संघको गतिविधि र सक्रियता पहिला भन्दा अझै बढ्नेछ, हामीहरु परिसंघमा गएकाले निस्क्रिय हुँदैन ।

संघको ६५ औं साधारणसभाले निर्वाचन समिति गठन गर्नेछ । त्यहि निर्वाचन समितिले नयाँ नेतृत्वको लागि निर्वाचन कार्यतालिका सार्वजानिक गर्नेछ । नयाँ नेतृत्वका लागि कुनै विवाद नरहेको बताउने गरिएको भएपनि साधारणसभामै देखिएको उल्झनलाई नेतृत्व चयनसँग समेत जोडिएको छ । संघको साधारणसभा मंसिरमा आयोजना गर्ने तयारी भईरहेको अध्यक्ष मुन्दडाको दावी छ ।

संघका महासचिव अनिल साहले प्रमुख अथितिको टुङ्गो नलाग्दा साधारणसभा आयोजना गर्न नसकेको जिकीर गर्नुभयो । मोरङ व्यापार संघ जस्तो गरिमामय संस्थाको साधारणसभामा आउने ‘चिफगेष्ट’ विशेष हुनुपर्दछ, महासचिव साहले भन्नुभयो-त्यो वातावरण तयार भएपछि साधारणसभाको मिति तोक्नेछौं ।
मोरङ व्यापार संघ निस्क्रिय हुँदा त्यसको सकारात्मक प्रभाव उद्योग संगठन मोरङमा देखिएको छ । उद्योग संगठन मोरङमा अध्यक्ष सुयश प्याकुरेलको नेतृत्वमा आएको नयाँ समितिले पछिल्लो समय जिल्लास्तर उद्योगी-व्यवसायीका समस्यालाई संस्थागत रुपमा उठाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्