विराटनगरको संजीवनी हस्पिटलका सञ्चालक विरुद्ध बैंकिङ कसुर आरोपमा उजुरी

विराटनगरको संजीवनी हस्पिटलका सञ्चालक विरुद्ध बैंकिङ कसुर आरोपमा उजुरी

विराटनगर । विराटनगर–९ स्थित संजीवनी हस्पिटल एण्ड आईभिएफ सेन्टर प्रा.लि.का सञ्चालक विरुद्ध बैंकिङ कसुर आरोपमा प्रहरीमा जाहेरी परेको छ ।

बैंकमा पर्याप्त मौज्दात रकम नभएको चेक जारी गरेपछि कर्जा सूचना केन्द्र लि. ले कालो सूचिमा राखेका सञ्चालक विरुद्ध पीडितले पक्राउ गरि कारवाहीको माग गर्दै मोरङ प्रहरीमा जाहेरी दिएका हुन् । हस्पिटलका सञ्चालकले २०७४ कार्तिक ८ गते विराटनगर–९ को ल्याब गुड्स सप्लायर्सबाट २३ लाख ५० हजार मूल्य बराबरको सर्जिकल सामाग्री खरिद गरेका थिए । लामो समयसम्म कारोबार रकम भुक्तानी नगरेपछि गत साउन १५ गते चेकबाट भुक्तानी गरेका थिए । तर, बैंकमा साट्न जाँदा बाउन्स भएपछि कर्जा सूचना केन्द्रले सञ्चालकलाई कालोसूचीमा राखेको थियो ।

त्यसपछि पीडितले मोरङ प्रहरीमा बैंकिङ कसुर आरोपमा जाहेरी दिएर पक्राउ गरि अनुसन्धान गरिदिन माग गरेका हुन् । बैंकिङ कसुर विरुद्धको मुद्दामा अस्पतालका अध्यक्ष राजकुमार मण्डल, बिनायककान्त पन्त र संजीवनी हस्पिटललाई विपक्षी बनाइएको छ । तर, कर्जा सूचना केन्द्रले डा.प्रेरणा दाहाल, डा.पवन पराजुली, डा.बरुण देवसहित अध्यक्ष राजकुमार मण्डल, सञ्चालक बिनायककान्त पन्त, विजयकुमार मण्डल, ओमप्रकाश प्रसाँईको नाम कालोसूचीमा राखेको छ ।

मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गर्नका लागि अदालतबाट अनुमति लिने प्रक्रिया सुरु गरिएको बताउनुभयो । प्रहरीले जाहेरीमा उल्लेखित व्यक्तिलाई मात्रै पक्राउ गरेर प्रारम्भिक अनुसन्धान गर्नेछ । कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेका अन्य व्यक्तिलाई त्यसपछि नियन्त्रणमा लिनेछ ।

अस्पतालका सञ्चालकमध्येका विनायककान्त पन्तले भुक्तानी दिनुपर्ने रकम दिने सहमति भएको दावी गर्नु भएको छ । पेयमेन्टको प्रक्रियामा गईसकेकोले मिलापत्र हुनसक्ने पन्तको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्