फुजिमा आयलले ल्यायो लुब्रिकेन्ट्स प्रयोगपछिको बिमा

फुजिमा आयलले ल्यायो लुब्रिकेन्ट्स प्रयोगपछिको बिमा

विराटनगर । फुजिमा लुब्रिकेन्ट्स आयल कम्पनी प्रा.लि.ले आफ्नो उत्पादन प्रयोगकर्ताका लागि ‘प्रोडक्ट ल्याबिलिटी इन्स्योरेन्स’ सुविधा योजना ल्याएको छ । कम्पनीका उत्पादन प्रयोग गर्ने सेवाग्राहीलाई आश्वास्त पार्न र प्रयोगपछि समेत उत्पादनको ग्यारेन्टीका लागि दायित्व बहन गर्ने योजना अगाडी सारेको हो ।

सुनसरी–मोरङ औद्योगिक करिडोर अन्तर्गत बुढीगंगा–४ मा रहेको कम्पनीले नेपालमै पहिलो पटक यस्तो सुविधा उपभोक्ताका लागि ल्याएको प्रबन्धक निर्देशक सुवोध कोइरालाको दावी छ । फुजिमा आयल कम्पनीका उत्पादनको प्रयोगपछि कुनै पनि मिलमेशिनरी र सवारी साधनमा समस्या देखिएको अवस्थामा त्यस्ता प्रयोगकर्तालाई क्षतिपूर्ति भराउने निर्देशक कोइरालाको भनाई छ । कम्पनीले कन्ट्रोल लुब्रिकेन्ट्स, म्याजिक प्लस, रोयल लुब्रिकेन्ट, मेशिन आयल र ग्रिज आयल उत्पादन गर्दै आएको छ । यी उत्पादन प्रयोग गर्दा प्रयोगपछि केहि समस्या भएको पुष्टि भएमा बिमा वापत भरण गरिने योजना ल्याइएको हो ।

कम्पनीकै उत्पादन प्रयोगका कारणले समस्या भएको हो वा हैन भन्ने यकिनका लागि ल्याब परीक्षण गरिने छ । यसको खर्च उपभोक्ताले बेहोर्नुपर्ने छैन । यदि परीक्षणमा कैफियत देखिएमा इन्स्योरेन्स कम्पनीमार्फत क्षतिपूर्ति भराइने निर्देशक कोइरालाले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिनुभयो ।
नेपालमा २७ वर्षदेखि लुब्रिकेन्टस् उत्पादन गर्दै आएको यो कम्पनीले उपभोक्ता लक्षित गरेर बजारीकरणको नयाँ अभ्यास थालेको छ । हिमालय इस्न्योरेन्स कम्पनीसँग एकवर्षका सम्झौता गरिएको हो । आगामी एकवर्षको एक करोड बराबरको इन्स्योरेन्स गरिएकोले दावीका आधारमा भुक्तानी गरिने बताइएको छ ।

विदेशमा उद्योगका उत्पादनको प्रयोगपछिको बिमा गर्ने चलन रहेपनि नेपालमा फुजिमा आयल नै पहिलो यस्तो कम्पनी भएको निर्देशक कोइरालाको जोड छ । यसको मुख्य कारण नेपाली उत्पादनप्रतिको विश्वास जगाउने र खपत बढाउने हो, कोइरालाले भन्नुभयो–नेपालमा ६५ प्रतिशत आयातित लुब्रिकेन्टस्ले बजार ओगटेको छ, नेपाली बजार ३५ प्रतिशतमा सिमित छ । फुजिमाले वार्षिक ३५ केएल बराबरको आफ्नो उत्पादन बिक्री गर्दै आएको छ । कच्चाको रुपमा बेस आयाल आयात गरेर प्रशोधनपछि लुब्रिकेन्ट्स उत्पादन गरिन्छ । नेपालमा वार्षिक १५ अर्ब बराबरको लुब्रिकेन्ट्स खपत हुने गरेको अनुमान छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्