भीम कामत मृत्यु प्रकरण : छानबिन समिति निष्क्रिय, अनुसन्धान फितलो

भीम कामत मृत्यु प्रकरण : छानबिन समिति निष्क्रिय, अनुसन्धान फितलो

विराटनगर । भीम कामत मृत्यु प्रकरणको छानबिनका निम्ति गठित समितिको असंवेदनशीलता कारण अनुसन्धान फितलो बन्दै गएको छ ।

छानबिन समितिका सदस्यहरु हालसम्म संवेदनशील नबन्दा आफन्तले न्याय पाउने आश गुमाउन थालेका छन् । मृत्यु प्रकरणको छानबिनका निम्त्ति गत भदौ २१ गते जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । समितिमा १ नं. प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारी, वडा नं. ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने, वडा नं. १२ का वडाध्यक्ष हीरालाल कामत र मृत्तकका छिमेकी विरेन्द्र कुमार कार्की थिए । छानबिन समितिले १० दिनभित्र घटनाको सत्यतथ्य छानबिन गरि तयार प्रतिवेदन मोरङ प्रशासनलाई बुझाउनुपर्ने थियो ।

तर, समितिका सदस्यहरु छलफलमा सहभागी नहुने र बारम्बार सम्पर्कविहीन हुने गर्न थालेपछि छानबिनमा थप ढिलाई हुँदै गएको मोरङ प्रशासनले जनाएको छ । छानबिन समितिका सदस्यहरुको गैर जिम्मेवारीपनका कारण समिति गठन भएको १ महिना बितिसक्दा पनि हालसम्म घटनाको निक्र्यौल आउन नसकेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए । ‘मेरो तर्फबाट आवश्यक पहल भईरहेको छ,’ उनले भने, ‘तर, समितिका सदस्यहरु सहयोगी देखिनुभएन् । छलफलका लागि बोलाउँदा पनि कोही उपस्थित हुने, कोही उपस्थित नहुने गर्न थालेपछि समस्या भएको हो ।’

लागुऔषध मुद्दामा भदौ १८ गते पक्राउ परेका विराटनगर–११ का कामतको भदौ २० गते मृत्यु भएको थियो । अनुसन्धानको क्रममा २ दिन हिरासतमा रहेको अवस्थामा बिरामी भएपछि भदौ २० गते प्रहरीले उनलाई उपचारका लागि कोशी अस्पताल पुर्‍याएको थियो । अस्पताल पुगेपछि गाडीबाट निस्कने क्रममा मुखमा फिँज निकाली बेहोस भएका कामतको उपचारका क्रममा मृत्यु भएको हो । तर, मृत्तकका परिवार तथा आफन्तजनले प्रहरी हिरासतमै चरम यातना दिएको कारण उनको मृत्यु भएको आरोप लगाउँदै आएका छन् ।

यद्यपि, धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट भिसेरा रिपोर्ट नआईसकेकाले घटनाबारे थप केही भन्न नसकिने मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलको भनाई छ । ‘हामी पनि रिपोर्टकै पर्खाइमा छौं । रिपोर्ट हात लाग्ने बित्तिकै एउटा निष्कर्षमा पुगिन्छ,’ उनले भने, ‘रिपोर्ट आएपछि प्रतिवेदन तयार पार्न बेर लाग्दैन् । बाँकी घटनामा संलग्न प्रहरीको बयान लिने र ग्राउण्ड लेभल अनुसन्धान गर्ने लगायतका काम भने सकिएको छ । थप छलफलका लागि बिहीबार छानबिन समितिको बैठक बोलाएको छु ।’

यता छानबिन समितिको प्रतिवेदनको अभावमा भीम कामत मृत्यु प्रकरणमा मुछिएका मोरङका ३ जना प्रहरी उपरपनि केही कारबाही गर्न सकिएको छैन् । मोरङ प्रहरीका हवल्दार ढकबहादुर कार्की, मनोज साह र राजवंशी थर भएका एकजना उपर हिरासतमा रहँदा बिरामी भएको अवस्थामा समेत कामतलाई यातना दिएको आरोप छ । दोषी ठहरिए उनीलाई निलम्बन गर्ने तयारी रहेपनि छानबिन समितिको प्रतिवेदन नआईसकेकाले केही गर्न नसकिएको मोरङ प्रहरीका प्रहरी उपरीक्षक जर्नादन जिसीले बताए ।

३९ बर्षीय कामतको प्रहरी हिरासतमै मृत्यु भएपछि भदौ २० गते उनका आफन्तले कोशी अस्पतालकोे शवगृह घेराउ, २१ गते जिल्ला प्रशासन कार्यालय घेराउ तथा २२ गते जलजला चौक र शनिमन्दिरस्थित टायर बालेर प्रदर्शन समेत गरेका थिए । घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई कारबाही र पिडित पक्षलाई क्षतिपुर्तिको व्यवस्था गर्नुपर्र्ने उनीहरुको माग छ । तर, छानबिन समितिका सदस्यहरुले ध्यान नदिँदा भित्राभित्रै घटना ढाकछोपको प्रयास भईरहेको श्रोतको दाबी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्