प्रेम देवान
विराटनगर । बजार अनुगमनका क्रममा खरिद तथा बिक्री बिल जारी नगरेको पाइएपछि विराटनगरको एक किराना पसललाई २ लाख जरिवाना गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा बुधबार विभिन्न नियामक निकायले अनुगनमका क्रममा सो प्रमाण भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम ठाउँको ठाउँ जरिवाना गरेको हो ।
विराटनगर–११ स्थित केशलिया मार्गमा राहुल कुमार साहले संचालन गर्दै आएको आर के ट्रेडर्सले अवैध रुपमा भारतबाट ल्याएको चिनी चामलको बोरा भित्र लुकाएर राखेको भेटिएको थियो ।
७७७ प्रिमियम स्टिम जिरामसाला चामलको बोरा भित्र शिलबन्दी अवस्थामा २० बोरा चिनीको कुनै पनि खरिद बिल नभेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) बमोजिम २ लाख जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त प्रमुख सन्तोष पोखरेलले जानकारी दिनुभयो । उक्त पसलमा अन्य किराना आईटमका कुनै सामानको खरिद तथा विक्रीका बिल भौचर भेटिएन पोखरेलले भन्नुभयो,’ पसलमा भेटिएको चिनी सबै भारतबाट अवैध रुपमा ल्याएको देखियो ।’ पसलको नाममा स्पष्ट नभएको भेटिएपछि तत्काल २ लाख जरिवाना गरिएको पोखरेलले बताउनुभयो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले चाडपर्व लक्षित अनुगमनलाई निरन्तर दिदै आएको छ ।
अनुगमनमा वाणिज्य कार्यालयका निमिक्त प्रमुख सन्तोष पोखरेल, कार्यालयका नायब सुब्बा दिर्घ घिमिरे, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत शंकर न्यौपाने र दिनेश सुवेदी तथा जिल्ला प्रशासन कार्यालय मोरङका परमेश्वर भट्टुाराई लगायत संञ्चारकर्मीको टोलीले अनुगमन गरेको थियो ।
।