विराटनगर । विराटनगर–८ मा एक महिलालाई बोक्सीको आरोपमा कुटपिट गरिएको छ । चारजना पुरुष मिलेर महिलालाई बोक्सी आरोपमा कुटपिट गरेको पीडितले बताएकी हुन् ।
स्थानीय मुस्तकिम मियाँ, सगिर मियाँ, कविर मियाँ र हविबुल मियाँले महिलालाई बोक्सी आरोपमा कुटपिट गरेपनि प्रहरीले कारवाही नगरेको पीडितको आरोप छ । गत असोज १९ गतेको घटनापछि प्रहरीमा ठाडो निवेदन पीडितको नाममा परेको थियो । त्यसपछि पीडितको घाउ चेकजाँच गरिएको छ ।
तर, प्रहरीले उजुरी लिन नमानेको भन्दै उनीहरुले हुलाकबाट जाहेरी पठाएका थिए । पाँच दिन अगाडी पठाएको जाहेरी जिल्ला प्रहरी कार्यालयमा पुगेको प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिनुभयो ।
तर, हुलाकबाट जाहेरी गरेपनि पीडित सनाखतका लागि नगएका कारण कारवाही प्रक्रिया बढाउन नसकेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पीडितले हुलाकबाट जाहेरी पठाएर अहिले विभिन्न बहाना बनाउने गरेका छन् । जाहेरी सनाखत गरेपछि मात्रै थप प्रक्रियामा जान सकिने प्रवक्ता श्रेष्ठले बताउनुभयो । पीडितले भने पहुँचवाला पीडक भएका कारण प्रहरीले पक्राउ गरेर अनुसन्धानको प्रक्रियामा लैजान आनाकानी गर्दै आएको आरोप लगाएका छन् ।