भीम कामत मृत्यु प्रकरणको छानबिन प्रतिवेदन पेश, प्रहरीको लापरबाही देखियो

<span class='c1'>भीम कामत मृत्यु प्रकरणको छानबिन</span> <span class='c2'>प्रतिवेदन पेश, प्रहरीको लापरबाही देखियो</span>

विराटनगर । भीम कामत मृत्यु प्रकरणको छानबिनका निम्त्ति गठित समितिले घटनाको विस्तृत अनुसन्धानको आधारमा तयार अन्तिम प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई बुझाएको छ ।

शुक्रबार दिउँसो बसेको छानबिन समितिको बैठकले मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई घटनाको अनुसन्धान प्रतिवेदन बुझाएको हो । बुधबार साँझ मृत्तकको भिसेरा रिपोर्ट आएपछि शुक्रबार समितिले मृत्तकको अन्तिम छानबिन प्रतिवेदन तयार पारेको थियो । छानबिन समितिद्वारा तयार प्रतिवेदन अनुसार मृत्तकको भिसेरा रिपोर्टमा सामान्य छ । ‘बाहिरी चोटपटक यसअघि नै खुलेको थियो । भित्री चोटपटक देखिएको छैन,’ समितिका सदस्य एवं वडा नं. १२ का वडाध्यक्ष हीरालाल कामतले भने । तर, घटनामा भने प्रहरीको गम्भीर लापरबाही देखिएको उनले बताएका छन् ।

बिरामी भएको अवस्थामा पनि कामतलाई हतकडी लगाएर हिरासतमा राखिएको र समयमै उपचार नगराएको आरोप प्रहरीमाथि छ । कामतले समयमै उचित उपचार नपाएकै कारण उनको ज्यान गएको प्रतिवेदनमा उल्लेख छ । प्रहरी अनुसन्धानको क्रममा कामतलाई उपचारबाट बञ्चित गराईएपछि उनको ज्यान गएको छानबिन समितिका सदस्य एवं वडा नं. ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेले बताए । ‘घटना भएको दिन बिहानैदेखि बिरामी रहेका कामतलाई प्रहरीले दिउँसो १२ बजे मात्र अस्पताल लगेको देखिएको छ,’ उनले भने, ‘समयमै उपचार पाएको भए ज्यान जोगिन्थ्यो ।’

छानबिनको क्रममा कामतलाई छारेरोग सम्बन्धी समस्या रहेको खुलेको छ । गाँजा सहित पक्राउ परेको दिन बेलुकी ६ बजे र राती करिब १२ बजे पनि उनलाई रोगले आक्रमण गरेको थियो । महिला सेलकी इन्स्पेक्टर एल्जिना राईले उनलाई अस्पताल पुर्‍याएकी थिईन् । दुवैपटक विराटनगरस्थित कोशी अस्पतालमा उपचार गरिएपछि उनलाई पुनः जिल्ला फर्काइएको थियो ।

घटना भएको दिनपनि बिहान करिब ८ बजे उनलाई छारेरोगले आक्रमण गरेको थियो । हातखुट्टा कडा भई काम्ने लगायतका लक्षण देखिएपनि प्रहरीले ध्यान दिएको थिएन् । करिब १२ बजे समस्या बढ्दै गएपछि मात्र प्रहरीले उनलाई लतार्दै घिर्सादै उपचारका लागि कोशी अस्पताल लगेको जिल्ला प्रहरी कार्यालयको सिसिटिभी फुटेजमा देखिएको छ । तर, अस्पताल पुग्दा उनको मृत्यु भईसकेको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले बताएका छन् ।

छानबिन समितिको अनुसन्धानको क्रममा मृत्तकलाई कोरोना संक्रमण पनि भएको खुलेको छ । तर, उनको मृत्यु भने कोभिडका कारण नभएको छानबिन समितिका सदस्य एवं वडा नं. ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेको भनाई छ । यद्यपि, घटनामा भने प्रहरीको कमी कमजोरी देखिएको उनले बताएका छन् । उनले भने, ‘हामीले प्रतिवेदनमा पनि घटनामा संलग्न प्रहरीलाई कारबाही र पिडित परिवारलाई क्षतिपुर्तिको व्यवस्था हुनुपर्ने उल्लेख गरेका छौं ।’

लागुऔषध मुद्दामा भदौ १८ गते पक्राउ परेका विराटनगर–११ का कामतको भदौ २० गते मृत्यु भएको थियो । अनुसन्धानको क्रममा २ दिन हिरासतमा रहेको अवस्थामा बिरामी भएपछि भदौ २० गते प्रहरीले उनलाई उपचारका लागि कोशी अस्पताल पुर्‍याएको थियो । तर, अस्पताल पुग्नुअघि नै उनको मृत्यु भईसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमन लाल दासले बताएका छन् । मृतकका आफन्तजनले प्रहरी हिरासतमै चरम यातना दिएको कारण उनको मृत्यु भएको आरोप लगाउँदै आएका छन् ।

उक्त मुत्यु प्रकरणमा भने मोरङका ३ जना प्रहरीको नाम बाहिर आएको छ । मोरङ प्रहरीका असई ढकबहादुर कार्की, मनोज साह र राजवंशी थर भएका एकजना उपर हिरासतमा रहँदा बिरामी भएको अवस्थामा समेत कामतलाई यातना दिएको आरोप छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्