अपडेट : ६४ दिन मै प्रदेश एकका मुख्यमन्त्री आचार्यले राजिनामा दिए

अपडेट : ६४ दिन मै प्रदेश एकका मुख्यमन्त्री आचार्यले राजिनामा दिए

विराटनगर । मुख्यमन्त्री भीम आचार्यले आफ्नो पदबाट राजिनामा दिएका छन् । भदौ १० गते मुख्यमन्त्री बनेका उनको कार्यकाल २ महिना पुरा भएको छ ।
पार्टीको वहुमत नरहेकोले आफूले राजिनामा दिएको उनले घोषणा गरेका छन् । प्रदेश सभाको सोमबारको बैठकमा विश्वासको मत लिने सन्दर्भमा सभामुख प्रदीप कुमार भण्डारीले आचार्यलाई सदनमा मन्तब्य राख्ने समय दिएका थिए ।
आचार्यले कठिन मेहनत गरेर गणतन्त्र आएको र राजनीतिक स्थिरता भएपनि पछिल्लो राजनीतिक घटनाक्रमले परिस्थिति फेरिएको बताए । उनले भने, “जनअपेक्षा विकासको थियो । सबै दल एक भएर अघि बढ्नुपर्ने बेला थियो । हामी राष्ट्र र जनताप्रति उत्तरदायी छौँ । लोकतान्त्रिक प्रतिस्पर्धा बाहेक दलमा कटुता छैन । मुलुकका सबै दल जनताको हितमा लाग्न आवश्यक छ ।”
आचार्यले संविधानको भावना विपरीत अध्यादेश जारी भएको र दल विभाजनको सन्दर्भमा त्यही भएको बताउँदै यसले अस्थिरता भएको बताए । उनले पछिल्लो प्रावधानले दल विभाजनको अवस्था आएको भन्दै अध्यादेशले ४० प्रतिशतको साटो २० बनाएको र अमर्यादित ढंगले आएको सुनाए । उनले भने, “यो संविधानको मर्मअनुसार थिएन ।”
जनताको अपेक्षा र कामको चापले आफूले पहिल्यै राजीनामा नदिएको जिकिर गर्दै जनताको माग सरकार रहिरहोस भन्ने भएपनि संसदको अंकगणित अर्कै भएको बताए ।

भने, “लडाईँ झगडा धेरै गर्ने भन्दा प्रतिस्पर्धा देश निर्माणमा केन्द्रित हुनुपर्छ ।” विश्वासको मत लिन असोज १५ गते आचार्यले प्रस्ताव दर्ता गराएका थिए । नयाँ सरकार राजनीतिक गन्जागोलबीच आएको र आफूले नेतृत्त्व गर्दा केही राम्रो काम गरेको जिकिर गरे ।
कोभिड नियन्त्रणको लागि निः शुल्क परीक्षण र उपचारको दायरा बढाईएको, तेस्रो लहरको सामना गर्न उपचारका लागि अक्सिजन, भेन्टीलेटर, शैयाको उचित प्रबन्ध गर्दै रु १० करोडको फन्ड राखेको, यातायातको सेवा अनलाईन लाने प्रबन्ध गरेको, धनकुटामा सेवा विस्तार गरेको, जिल्लाहरूमा सेवा कार्यालय खोलिएको तर एकीकृत सेवा दिने सवालमा थप अध्ययन भइरहेको सदन समक्ष जानकारी गराए ।
पर्यटन बोर्ड, खेलकुद बोर्ड, श्रम सल्लाहकार समिति गठन, मनमोहन प्राविधिक विश्वविद्यालयमा छात्रवृत्तिको स्रोत सुनिश्चित गरेको, धनकुटामा एक सय बेडको अस्पताल उद्घाटन गरेको सदनलाई जानकारी गराए । प्रदेश सभामा वहुमतको लागि ४७ सांसद चाहिन्छ । गठबन्धनसंग ५० सांसद छन् । एमालेका ४१ छन् । राप्रपाका एक जना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्