एकीकृत समाजवादीका राजेन्द्र राई प्रदेश १ को नयाँ मुख्यमन्त्री नियुक्त

एकीकृत समाजवादीका राजेन्द्र राई प्रदेश १ को नयाँ मुख्यमन्त्री नियुक्त

विराटनगर । पाँच दलीय विपक्षी गठबन्धनको समर्थनमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राई प्रदेश १ को नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् ।

सोमबार मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशप्रमुख समक्ष दिएको लिखित राजिनामा स्वीकृत भएपछि संविधानको धारा १६८ को उपधारा २ बमोजिम मंगलबार राई प्रदेश १ को नयाँ मुख्यमन्त्री बनेका हुन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी 'प्यासी' ले राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । अबको केही बेरमै प्रदेशप्रमुखको कार्यालयमा उनले मुख्यमन्त्रीको शपथ ग्रहण लिने कार्यक्रम छ । मुख्यमन्त्री आचार्यको राजिनामा पश्चात सोमबार अपरान्ह प्रदेशप्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले नयाँ सरकार गठनका लागि आव्हान गरेका थिए । संविधानको धारा १६८ (२) बमोजिम प्रदेशसभामा कुुनैपनि दलको स्पष्ट बहुमत नरहेकाले दुई वा सो भन्दा बढी दलको समर्थन प्राप्त प्रदेशसभा सदस्यले मंगलबार दिनको १ बजेभित्र मुख्यमन्त्री पदका लागि दाबी गर्नसक्ने बाटो खुलेको थियो । सोही बमोजिम विपक्षी गठबन्धनका ४९ जना सांसदहरुले हस्ताक्षर सहित नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन सोमबार दाबी पेश गरेका थिए । उनीहरुको दाबी स्वीकृत भएसँग राई प्रदेशसभाको ४९ जना सांसदको समर्थन प्राप्त प्रदेश नं. १ को नयाँ मुख्यमन्त्री बनेका हुन् ।

राईसँग नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा (एकीकृत समाजवादी) का १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जना सांसदको समर्थन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्