अम्बे समूहले बाँकेमा एक अर्ब २५ करोडको लगानीमा विलेट उद्योग शुरु गर्दै

अम्बे समूहले बाँकेमा एक अर्ब २५ करोडको लगानीमा विलेट उद्योग शुरु गर्दै

सिराज खान/गाेरखापत्र
नेपालगञ्ज । अम्बे समूहले बाँकेमा एक अर्ब २५ करोडको लगानीमा आफ्नै बिलेट उद्योग सञ्चालनमा ल्याउन थालेको छ ।
जिल्लाको जानकी गाउँपालिकाको गनापुरमा आगामी तीन महिनाभित्र सो उद्योग सञ्चालन गर्ने गरि तयारी अन्तिम चरणमा पुगेको अम्बे समूहको बाँकेस्थित उद्योगका व्यवस्थापक अनुज श्रेष्ठले बताउनुभयो ।

दुई वर्ष अघि तीन अर्ब रुपियाँको लगानीमा गनापुरमै सो समूहले जय अम्बे डन्डी उद्योग सञ्चालनमा ल्याएको थियो ।
१६ विघामा फैलिएको जय अम्बे स्टील उद्योगभित्र बिलेट युनिट स्थापना गरिएको जनाउँदै सो उद्योग सञ्चालनमा आएपछि भारतबाट आयात गरिने बिलेटको आयात बन्द हुने व्यवस्थापक श्रेष्ठले बताउनुभयो ।
विलेट उद्योग स्थापनाको प्रक्रिया थालेको १० महिना भइसकेको जनाउँदै उहाँले ढिलोमा तीन महिनाभित्र बिलेट उत्पादन शुरु गरिने तयारी रहेको बताउनुभयो ।
यो उद्योगबाट दैनिक ७५० टन बिलेट उत्पादन हुने सो उद्योगले जनाएको छ । व्यवस्थापक श्रेष्ठका अनुसार उद्योगभित्र २५ टनका तीन वटा युनिट हुनेछ । यो युनिटबाट दैनिक साढे सात सय डन्डी उत्पादन हुने जनाउँदै उहाँले उत्पादन भएको बिलेट आफ्नै उद्योगमा प्रयोग गर्ने बताउनुभयो ।
सरकारले प्रतिस्थापन विधेयकमार्फत स्पन्ज आइरनको भन्सार शुन्यमा झार्दै विलेट आयातको अन्तशुल्क बढाएको थियो । सरकारी नीतिपछि उद्योगबाट उत्पादित विलेट विक्री समेत गर्ने उहाँले जानकारी दिनुभयो । सुरुमा आफ्नो लागि मात्रै भनेर उद्योग स्थापना गरेको जनाउँदै व्यवस्थापक श्रेष्ठले तर अहिले सरकारको नीतिले स्वदेशी उद्योगले समेत विलेट किन्न सक्ने अवस्था देखिएकोले झन उत्साहित भएको बताउनुभयो ।
‘अब कसैले हामीबाट बिलेट किन्छ भने हामीले बनाएर विक्री समेत गर्नेछौं’–उहाँले भन्नुभयो । अम्बे स्टिल उद्योगबाट उत्पादित विलेट गुणस्तरमा भारतीयभन्दा कम नहुने दावी पनि सो उद्योगले गरेको छ ।

हाल सञ्चालनमा रहेको अम्बे समूहको छड उद्योगले ८ एमएमदेखि ४० एमएमसम्मको छड उत्पादन गरिरहेको छ । उद्योगका अनुसार ४० एमएमको छडहरु जलबिद्युत आयोजना पूर्वाधार निर्माणको काममा प्रयोग हुन्छन् ।

लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको बजारलाई लक्षित गरेर बाँकेमा सो छड उद्योग सञ्चालनमा ल्याईएको हो । अम्बे समूहको यो दोस्रो छड उद्योग हो । भैरहवाबाट यसअघि नै अम्बे ब्राण्डका छडहरु उत्पादन गरेर विक्री भैरहेकाे छ ।

बाँकेको गनापुरमा तयार भैरहेको अम्बे समूहको विलेट उद्योग । तस्विर - सिराज खान । नेपालगञ्ज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्