हनुमन्तेडाँडामा पर्यटकको चहलपहल बढ्यो

हनुमन्तेडाँडामा पर्यटकको चहलपहल बढ्यो

बाबुराम शर्मा
चरिकोट । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकसित भइरहेको दोलखाको वैतेश्वर गाउँपालिका र जिरी नगरपालिकाको सीमामा रहेको हनुमन्तेडाँडामा पर्यटकको चहलपहल बढ्न थालेको छ ।

समुद्री सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा पर्ने सो क्षेत्रमा यातायात सञ्चालन हुनुका साथै पैदल मार्ग पनि निर्माण भएपछि पर्यटकको चहलपहल बढ्न थालेको वैतेश्वर गाउँपालिका उपाध्यक्ष रविचन्द्र आचार्यले जानकारी दिनु भयो ।

उहाँका अनुसार कोरोना संक्रमण कम हुँदै गएपछि आन्तरिक पर्यटक यहाँ आउन थालेका छन् । नयाँ पर्यटकीय गन्तव्यको रुपमा उदाउँदै गरेको हनुमन्तेडाँडा बिदामा घुम्ने उपयुक्त गन्तव्य समेत बन्न पुगेको छ । नयाँ वर्ष मनाउन करिब पाँच हजार आन्तरिक पर्यटक हनुमन्तेडाँडामा पुगेका थिए । कोरोनाले केही दिन रोकिएका थिए ।

हनुमन्ते क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउनका लागि वाग्मती प्रदेसले समेत विशेष चासो राख्दै आएको जानकारी दिँदै उपाध्यक्ष आचार्यले भन्नुभयो, भ्रमण गर्न आउने पर्यटकलाई लक्षित गरी वाग्मती प्रदेशको सहयोगमा खावाबजारबाट हनुमन्तेको बेसक्याम्प मानिने मेहेलेसम्म सडक मार्ग निर्माण गरिएको छ भने मेहेलेबाट हनुमन्तेडाँडासम्म पदमार्ग सिँढी निर्माण गरिनुका साथै विभिन्न क्षेत्रमा पर्यटकीय संरचना निर्माण गरिएको छ ।

हनुमन्तेडाँडाको छुट्टै धार्मिक मान्यता रहेका कारण धार्मिक पर्यटक हनुमन्ते क्षेत्रमा पुग्ने गरेको पाइन्छ । किमबदन्ती अनुसार हिन्दू धर्मशास्त्रमा हनुमानले हुमन्तेडाँडाको पहाडबाट नै सञ्जीवनीको बुटी लगेको उल्लेख गरिएको छ । परापूर्वकालमा हनुमन्तेडाँडामा हनुमानको मूर्ति आफैं उत्पत्ति भएको मानिन्छ । सो मूर्ति त्यस क्षेत्रबाट पछि चोरी भएको स्थानीयवासीले बताएका छन् ।

हनुमन्तेडाँडामा हिन्दू धर्मावलम्बीहरूको आस्था जोडिएको र यसलाई अब रामायण सर्किटसँग जोडेर धार्मिक पर्यटकको आकर्षक गन्तव्य बनाउने योजना रहेको वैतेश्वर गाउँपालिका उपाध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

हनुमन्तेको भ्रमण गर्न चाहने पर्यटक सहजै पुग्न सक्ने वातावरण बनिसकेको छ । चरिकोट–जिरी सडकखण्डअन्तर्गत खावा बजारबाट बेस क्याम्प मेहेलेसम्म यातायातका साधनमार्फत र केही घण्टा पैदलयात्रापछि हनुमन्तेमा पुग्न सकिन्छ । हनुमन्तेमा हनुमानको पूजा गर्न पाउनुका साथै उक्त क्षेत्रबाट रोल्वालिङ हिमशृङखलाका हिमालहरु तथा आकर्षक प्राकृतिक सौन्दर्यको अवलोकन गर्न सकिन्छ । पर्यटकको चहलपहल बढ्न थालेसँगै यहाँ पर्यटकीय पूर्वाधार निर्माण पनि सुरु भएको छ ।

हनुमन्तेडाँडामा जिल्लाका सबै भूभागबाट देखिने हनुमानको मूर्ति राख्ने अवधारणा बनेको छ । यसलाई लक्षित गरी अहिले सानो कदको हनुमानको मूर्ति समेत स्थापना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्