सोनु साह,
विराटनगर । विराटनगर महानगरपालिका–१९ बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माण सुरु भएको झण्डै तीन दशक पुग्न लाग्दा पनि अधुरै रहेको छ। कोशी प्रदेशको राजधानी विराटनगरमा अत्याधुनिक र सुविधासम्पन्न खेल पूर्वाधार निर्माण गर्ने लक्ष्यसहित अघि बढाइएको रंगशाला अहिले झाडी र घाँसले भरिएको अवस्थामा पुगेको छ। लामो समयदेखि बजेट अभाव, कमजोर समन्वय तथा सरकारी प्राथमिकतामा नपर्दा रंगशाला निर्माणले गति लिन सकेको छैन।
तर, पछिल्लो समय रंगशाला निर्माणले पूर्णता पाउने आशा फेरि जागेको छ। रास्वपा नेतृत्वमा बनेको नयाँ सरकारले खेल क्षेत्रको पूर्वाधार विकासलाई प्राथमिकता दिएको सन्दर्भमा प्रधानमन्त्री बलेन्द्र शाहले बैजनाथपुर रंगशालालाई विराटनगर किंग्सको घरेलु मैदानका रूपमा विकास गर्ने घोषणा गरेपछि स्थानीय खेलकर्मी तथा खेलप्रेमी उत्साहित भएका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत आठवटै एनपीएल टोलीका लागि फ्लडलाइटसहितका रंगशाला निर्माण प्रक्रिया आगामी तीन महिनाभित्र अघि बढाउने घोषणा गरेका थिए। सरकारको योजनाअनुसार विराटनगर किंग्सको घरेलु मैदान बैजनाथपुर रंगशाला रहनेछ।
एनपीएलको छैटौँ संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने लक्ष्यसहित क्लबका घरेलु मैदानलाई व्यवस्थित बनाउने योजना अघि सारिएको छ।

प्रदेशस्तरीय क्रिकेट मैदान निर्माण गर्ने उद्देश्य राखिएको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला अहिलेसम्म पूर्ण संरचनामा परिणत हुन सकेको छैन। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले २०५५ सालमा ८५ लाख रुपैयाँमा १५ बिघा १५ धुर जग्गा खरिद गरेको थियो।
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका बेला अस्थायी संरचना निर्माण गरी क्रिकेट, सुटिङलगायतका खेल सञ्चालन गरिएको थियो। त्यसयता भने रंगशालामा नियमित प्रतियोगिता आयोजना हुन सकेको छैन। वर्षभरि घाँस र झाडीले ढाकिने रंगशाला वर्षमा एकपटक मात्रै सरसफाइ गर्ने गरिएको छ।
राष्ट्रिय खेलकुद विकास समिति कार्यालयका प्रमुख राजनकुमार पोखरेलका अनुसार रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समेटेर अन्तर्राष्ट्रियस्तरको खेल पूर्वाधार निर्माण गर्ने गुरुयोजना तयार पारिएको छ। उक्त योजनाअनुसार रंगशाला निर्माणका लागि दुई अर्ब ७९ करोड ७४ लाख रुपैयाँ लागत अनुमान गरिएको छ।

तीन वर्षभित्र क्रिकेट रंगशालासहित बहुउद्देश्यीय कभर्डहल, स्वीमिङ पुल, चेन्जिङ ब्लक, पेभिलियन र प्यारापिट निर्माण गर्ने लक्ष्य राखिएको छ।राखेपले गुरुयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न गत वर्ष झण्डै एक करोड रुपैयाँ खर्च गरेको थियो। पोखरेलका अनुसार डीपीआर तयार भइसकेको छ।
गुरुयोजनाअनुसार १४८ मिटर लम्बाइ र १४८ मिटर चौडाइको क्षेत्रफलमा १३८ मिटरको क्रिकेट मैदान निर्माण गरिनेछ। मैदानमा ६९ मिटरको बाउन्ड्री दूरीसहित पाँचवटा पिच रहने प्रस्ताव गरिएको छ। रंगशालामा ९ हजार ४९० साधारण सिट, ३५० भीआईपी र ६० भीभीआईपी सिट निर्माण गर्ने योजना छ।

त्यस्तै, १०५ मिटर लम्बाइ र ६८ मिटर चौडाइको फुटबल तथा रग्बी मैदान र ४०० मिटरको आठ लेनको एथलेटिक्स ट्र्याक निर्माण गर्ने गुरुयोजनामा उल्लेख छ। २५ मिटर लम्बाइ र २५ मिटर चौडाइको स्वीमिङ पुल तथा एक हजार ५०० दर्शक क्षमताको दुई हजार ८५० वर्गमिटर क्षेत्रफलमा फैलिएको बहुउद्देश्यीय कभर्डहलसमेत निर्माण गरिनेछ। समग्र परियोजनाबाट आठदेखि १० वर्षभित्र लगानीको प्रतिफल प्राप्त हुने अनुमान गरिएको छ।
प्रधानमन्त्रीको पछिल्लो घोषणाले बैजनाथपुर रंगशालालाई एनपीएलको घरेलु मैदानका रूपमा विकास गर्ने योजनालाई थप चर्चामा ल्याएको छ। फाप्ला रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको र अन्य रंगशालाको निर्माण प्रक्रिया पनि आगामी तीन महिनाभित्र अघि बढाउने प्रधानमन्त्रीले बताएका छन्।

देशका विभिन्न स्थानमा अन्तर्राष्ट्रियस्तरका क्रिकेट रंगशाला तथा खेल पूर्वाधार निर्माणका काम अघि बढिरहेका बेला विराटनगरको बैजनाथपुर रंगशाला भने अझै पूर्णताको प्रतीक्षामा छ। काठमाडौंको त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडान गरी सञ्चालनमा ल्याइएको छ भने चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान, पोखरा क्रिकेट मैदान, कैलालीको फाप्ला र जनकपुरको राम–जानकी बहुउद्देश्यीय रंगशालामा समेत निर्माण तथा विकासका काम अघि बढिरहेका छन्।
लामो समयदेखि रंगशाला निर्माण अलपत्र पर्दा विराटनगरको खेल क्षेत्रले अपेक्षित विकास गर्न सकेको छैन। पर्याप्त बजेट विनियोजन, प्रभावकारी समन्वय र सरकारी प्राथमिकता सुनिश्चित हुन सके बैजनाथपुर रंगशाला पूर्वी नेपालको महत्वपूर्ण खेल केन्द्र बन्न सक्ने खेलकर्मीहरूको विश्वास छ।
प्रधानमन्त्रीको घोषणापछि फेरि आशा पलाएको भए पनि स्थानीयको मुख्य चासो भने निर्माण प्रक्रिया कहिले सुरु हुन्छ र वर्षौंदेखि अधुरो रहेको रंगशालाले कहिले पूर्णता पाउँछ भन्नेमा केन्द्रित छ।