कृतबहादुर बिष्ट
फूलवारी (कैलाली)। कैलालीको धनगढी उपमहानगरपालिका १९ फूलवारीमा बसपार्क संचालनमा आएको छ । दुई करोड ७५ लाख १५ हजारको लागतमा निर्माण भएको बसपार्क संञ्चालनमा आएको हो ।
सघन शहरी विकास कार्यक्रम अन्र्तगत २०७४ असार ३० सम्झौता गरी २०७८ भाद्रमा निर्माण कम्पनीले धनगढी उपमहानगरपालिकालाई उक्त बसपार्क हस्तान्तरण गरेको उपमहानगरपालिकाका इन्जिनियर द्विजराज भट्टले बताउनुभयो । देव एण्ड सायर मसिना जेबी महेन्द्रनगरले उक्त बसपार्क निर्माण गरेको इन्जिनियर भट्टले बताउनुभयो ।
धनगढी उपमहानगरपालिकाले उपलब्ध गराएको १७ कट्ठा जग्गामा उक्त बसपार्क निर्माण भएको उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले बताउनुभएको छ । उहाँले हाल ५० ओटा बस अटाउने क्षमता रहेको बताउनुहुँदै , टर्मिनल भवन, पार्किङ एरिया, खानेपानी, घण्टाघरलगायतका संरचना निर्माण भएको बताउनुभएको छ ।
बसपार्कको धनगढी उपमहानरपालिकाका मेयर नृपबहादुर वडले उद्घाटन गर्नुभएको थियो । बसपार्कको उद्घाटन गरेसँगै सो बसपार्कबाट सुदूपश्चिमका पहाडी जिल्ला र देशका विभिन्न शहरका लागि बसहरु संचालन हुनेभएका छन् । सो बसपार्क संचालनमा आएसँगै धनगढी बसपार्कको चाप समेत घट्ने बताइएको छ । बस पार्क संचालन भएपछि हुलाकी सडक भएर चल्ने सवारी साधनलगायत अन्य साना ठूला सवारी साधनहरुलाई सहज हुने यातायात व्यवसायीले बताएका छन् ।
धनगढी उपमहानगरपालिका १९ फूलवारीमा बसपार्कको उद्घाटन गर्नुहँुँदै मेयर नृपबहादुर बड:तस्बिर कृतबहादुर बिष्ट