लेनदेन र सेटिङ परमादेश : अध्यक्ष ओली

लेनदेन र सेटिङ परमादेश : अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतको संसद बिघटन बदन गर्ने फैसला लेनदेन र सेटिङमा भएको आरोप लगाउनु भएको छ । नेकपा एमाले मोरङ जिल्ला पार्टीले विराटनगरमा सोमबार आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा अध्यक्ष ओलीले संसद भित्रको ठूलो दललाई प्रधानमन्त्री हुन निषेध गरेर गरिएको फैसला मन्त्री र राजदुतको सेटिङ भएको आरोप लगाउनु भएको हो ।

लोकतन्त्रमा अन्याय र असंवैधानिक फैसला सर्वोच्च अदालत भित्रबाट गरियो, अध्यक्ष ओलीले भन्नुभयो–देशलाई अलमलमा पार्ने पाँच दलिय गठबन्धनसँग मिलेर बलियो सरकार ढालियो । उहाँले पाँच दलिय गठबन्धनलाई भत्काउन मात्रै आउने आरोप लगाउँदै भन्नुभयो–तीन महिनासम्म सरकार बनाउन नसक्नेले देश बनाउन सक्दैन ।
प्रधानमन्त्री ओलीले न्यायालयले नै आफ्नो मर्यादा गुमाएको बताउँदै फैसला मानिदिँदा मात्रै इज्जत नबढ्ने बरु इज्जत बढ्ने फैसला गर्नुपर्ने तर्क गर्नुभयो । उहाँले सर्वोच्च अदालतले राष्ट्रपतिले प्रयोग गर्ने धारा ७६(५) को अधिकार समेत खोसेको आरोप लगाउँदै संविधान विपरित काम गरेर इज्जत खोज्न नहुने जिकीर गर्नुभयो ।

आगामी निर्वाचनमा देशलाई किनारा लगाउने तत्वहरुलाई नेकपा एमाले किनारमा पु¥याउने दावी गर्दै अध्यक्ष ओलीले काँग्रेस बाहेक अन्य दल प्रतिस्प्रर्धी समेत हुन नसक्ने बताउनुभयो । उहाँले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल नेपाली काँग्रेसको सेवक, ढोके र हुक्के भएको भन्दै आरोप लगाउनुभयो । पाँच दलिय गठबन्धनबीच चुनावी तालमेल हुने कुरा संभव छैन, अध्यक्ष ओलीले भन्नुभयो–हुने भए काँग्रेसले भनिहाल्थ्यो नी ।

स्थानीय तहको निर्वाचनदेखि एमाले उर्लदैं प्रदेश र संघीय निर्वाचनमा पुग्दा कोशीको बाढीमा परिणत हुने अध्यक्ष ओलीको भनाई थियो । पार्टी भित्रको गलत पक्ष बाहिरिएपछि अहिले नयाँ उभार आएको भन्दै अध्यक्ष ओलीले मोरङमा २९ हजार संगठित सदस्यबाट ३४ हजार पुगेको बताउनुभयो । थप ६ हजारको संंख्या संगठित सदस्यको प्रक्रियामा रहेको र विगतको भन्दा २५ प्रतिशत बढी मत समानुपातिमा प्राप्त गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

पार्टीले समाजवाद उन्मुख कार्यक्रमलाई अगाडी बढाईसकेको बताउँदै अध्यक्ष ओलीले ज्येष्ठ नागरिक भत्ता, सामाजिक सुरक्षा भत्ता कार्यक्रम समाजवादको प्रारम्भिक थालनी रहेको बताउनुभयो ।
जिल्ला पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा केन्द्रका नेताहरु, जिल्लास्थित नेताहरु, शुभेच्छुक तथा संगठित सदस्य, उद्योगी–व्यापारीको बाक्लो उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्