विराटनगरमा छठको रौनकता, आज अस्ताउँदो सुर्यलाई अर्घ्य दिईने

<span class='c1'>विराटनगरमा छठको रौनकता, आज</span> <span class='c2'>अस्ताउँदो सुर्यलाई अर्घ्य दिईने</span>

विराटनगर । मिथिला क्षेत्रका बासिन्दाहरुको महापर्व छठ आज अस्ताउँदो सुर्यलाई अर्घ्य दिएर मनाईंदैछ ।

सोमबार ‘नहाय–खाय’ विधिबाट विधिवत रुपमा सुरु भएको छठपर्वमा ब्रतालुहरुले आज षष्ठी तिथिका दिन साँझपख अस्ताउँदै गरेको सुर्यलाई अर्घ्य दिनेछन् । आईतबार कात्र्तिक शुक्ल तृतीयाका दिन ‘अरबाईन’, सोमबार चौथी तिथिका दिन ‘नहाय–खाय’ र मंगलबार कात्तिक शुक्ल पञ्चमीका दिन ‘खरना’ गरेका ब्रतालुहरुले आज साँझपख नजिकैको घाटमा पुगी नुहाएर प्रसाद राखिएको डाली हातमा उठाउने छन् । यो विधिलाई मिथिला क्षेत्रमा ‘सझुका अरख’ का नामले पनि पुकारिन्छ । सप्तमी तिथिका दिनपनि सोही विधि दोहोर्‍याएर उदाउँदो सुर्यलाई अर्घ्य दिएपछि विधिवत रुपमा छठपर्व समापन हुन्छ ।

छठको रौनकता सुरु भएसँगै मिथिला क्षेत्रमा अहिले जताततै सूर्यदेव र छठी माताको महिमा गाईएका गीतहरु गुञ्जन थालेका छन् । सुर्यदेवलाई अर्घ्य अर्पणका लागि धार्मिक महत्वका नदी, तलाउ र नहरहरु बेहुली झैं सिङ्गारिएका छन् । शास्त्रीय मत अनुसार महिला र पुरुष दुवैले छठको ब्रत बसेका छन् । रोग निवारण, पुत्र प्राप्ति र कार्यसिद्धिको विश्वास सहित मिथिलाबासीहरु छठपर्व गर्ने गरेका छन् ।

धार्मिक पक्ष

अत्रिमुनीका पत्नी अनुसुयाले परापूर्वकालमा छठ पर्वको शुभारम्भ गरेको धार्मिक शास्त्रहरुमा उल्लेख छ । शास्त्रमा वर्णन भए अनुसार छठमा सूर्यदेवकै उपासना गरेका कारण उनले आफ्नो पतिबाट अगाध स्नेह र माया पाएकी थिईन् । द्वापर युगमा महारानी द्रौपदीले पनि सूर्य उपासनाको यो पर्व गरेकी थिइन् । उपासनाकै कारण उनका पति युधिष्ठिरले आफ्नो प्रतिज्ञा पूरा गर्दै कौरवमाथि विजय हाँसिल गरेका थिए भन्ने जन श्रुति छ ।

यसका अतिरिक्त प्राचीनकालमा एक शक्तिशाली तर, दुष्ट प्रवृत्तिका राजालाई पूर्वजन्मको पाप स्वरुप कुष्ठ तथा क्षयरोग लागेको र एक ब्राह्मणको सल्लाहमा राजाले कार्तिक शुक्लपक्षको पञ्चमीदेखि सप्तमीको प्रातः कालसम्म विधिवत रुपमा उनले छठको अनुष्ठान गरेपछि उनी रोगमुक्त भएको जनविश्वास पनि मिथिला समुदायमा छ ।

केही दशकअघि मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब नेपालको सन्दर्भमा राष्ट्रिय पर्व नै बनिसकेको छ । पहाड र मधेसको सांस्कृतिक घुलमिलले छठपर्व हाल साझा पर्वको रुपमा विकास हुँदै गएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्