नेपाली रङ्गमञ्चमा एकदमै कम चिनिए पनि भारतीय रङ्गमञ्चमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नाम हो दया प्रकाश सिन्हा । सामाजिक कुरिती, विसङ्गतिहरुलाई ह्युमर र कमेडी भेषमा प्रहार गर्नु उनको विशेषता हो । सरकारी सेवामा रहेर पनि भारतीय रङ्गमञ्चमा अतुलनिय योगदान दिएका तिनै दया प्रकाश सिन्हाले लेखेको नाटक अहिले विराटनगरस्थित आरोहण–गुरुकुलमा मञ्चन भइरहेको छ ।
उनको लोकप्रिय नाटक अपने अपने दाँव अहिलेको समयअनुरुप नेपालीमा भावानुवाद गरेर दाय–कन्तुर सुशीला कोइराला नाटकघरमा कात्तिक २१ देखि मञ्चन भइरहेको छ । वर्तमान समयमा स्वार्थ र लोभले सम्बन्धहरुमा हुने खटपट तथा दुरीलाई परिस्थितीजन्य हाँस्य रसको माध्यमबाट पेश गरिएको नाटकले दर्शकहरुलाई झण्डै डेढ घण्टाभर बाँधेर राख्छ । एउटा मध्यमवर्गिय परिवारको कथाबाट सुरु हुने नाटकमा पतिको मृत्युपछि परको नाता लाग्ने भतिजोको घरमा बस्न आएकी हजुरआमाले आफ्नो जिउँनी (ढुकुटी) लिएर आएको र त्यो ढुकुटी हत्याउन भतिजो, बुहारी, नाति, नातिनी, नातिनी ज्वाँईले गरेका अनेकौं जालझेलहरु नाटकका विषयवस्तु हुन् ।
कथाको सुरुमै सत्ताच्युत भएकी पात्र हजुरआमालाई प्रस्तुत गरिन्छ । पूर्व–सामन्त परिवारको प्रतिनिधीको रुपमा रहेकी पात्र हजुरआमाले सम्पत्ति (ढुकुटी) को भ्रम छरेर पुरै परिवारलाई आफ्नो अनुकुल चलाउन खोजेकी छिन् । सौखिनता तथा दमनको खोल ओढ्ने सामन्ती भएपनि उक्त पात्रसँग भएको सम्पत्तिको लागि हाम्रो समाजले दिने सहानुभूति र प्रेमसँगको अन्तरद्वन्द्वले परिवारको सम्बन्धहरु धमिल्याउदै लगेको छ । कुटनीति परिवार, समाज विकृत हुँदै जाने क्रमबद्ध सिलसिलामा स्वार्थ र लोभले समाज कसरी विकृत हुँदै जान्छ र हामीलाई कसरी त्यसको भागिदार बनाइन्छ भनेर नाटकले सोच्न बाध्य बनाउँछ ।
श्रीमान, श्रीमती, अबोध बालकको भुमिकामा रहेको छोरा, बिहे भएर गएकी छोरी तथा उनको श्रीमानसँगै अरु एउटा स्वार्थको घेरामा पसेपछि हुने रोचक घटनाक्रमहरुले दर्शकहरुलाई हँसाइराख्दछ । हसाउँदा हसाउँदै सम्पत्तिका लागि हाम्रो समाजमा विद्यमान अंशवण्डा झमेलामाथि नाटकले नमिठो प्रहार गरेको छ । अझ डाक्टरको प्रवेश भएपछि, सम्बन्धहरुमा बाहिरी तत्वले पार्ने खैलाबैला प्रष्ट हुन्छ । खालि बाकस भित्रको थोत्रो जुत्ता निस्कँदा हाम्रा समाजका ति पात्रहरु, जसले अरुको सम्पत्ति कब्जा गर्न खोज्छन्, झलझली याद आउँछन् । पावर, पैसाको लागि सम्बन्धहरुलाई बढवा दिने हाम्रो समाजका पात्रहरु, परिवर्तनका नाममा स्थापित हामीहरु सामाजिक रुपमा कति लज्जास्पद अवस्थामा छौं र ति स्वार्थले हाम्रो परिवारलाई कसरी विकृत बनाएको छ नाटकमा देखिन्छ ।
नाटकको प्राविधिक पक्षमा केहि कमजोरी छन् तर विषयवस्तु र कलाकारको प्रस्तुतिले मन जित्छ । सँगै गुरुकुलले, कोरोना महामारीले थलिएको रंगमञ्च चलायमान गराउने प्रयास गरेको छ । काठमाडांै केन्द्रीत नेपालको रंगमञ्चलाई फराकिलो स्वरुप दिँदै दाय–कन्तुर मञ्चन गरेको छ ।