विराटनगर । पेट्रोलियम पदार्थ र ग्यासमा सरकारले गरेको मूल्यबृद्धिका विरुद्ध विराटनगरमा विरोध प्रदर्शन गरिएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले जनआन्दोलन चौकमा ग्यासको सिलिण्डरसहित विरोध प्रदर्शन गरेको हो ।
अनेरास्ववियुले सिलिण्डर सडकमा गुडाएर सांकेतिक रुपमा विरोध जनाएको थियो । कार्यक्रममा संगठनका उपमहासचिव भाष्कर खनालले नागरिकमाथि महंगी थोपरेर पाँच दलिय गठबन्धनको सरकारले सत्ताको दम्भ प्रदर्शन गरेको आरोप लगाउनुभयो । उहाँले इन्धन र ग्यासको मूल्य फिर्ता नलिए कडा संघर्षमा उत्रने चेतावनी समेत दिनु भएको थियो ।
मूल्य बृद्धिको विरोधमा सयौंको संख्यामा निस्केका विद्यार्थीहरुले सरकार नागरिकप्रति गैरजिम्मेवार बन्दै गएको भन्दै नाराबाजी गरेका थिए । मोरङका अध्यक्ष सन्तोष घिमिरेका अनुसार मूल्य बृद्धि फिर्ता नलिए आन्दोलनलाई थप सशक्त बनाउने चेनावनी दिनु भएको थियो ।