एमाले महाधिवेशन लोगोमा एकसिङे गैँडा

एमाले महाधिवेशन लोगोमा एकसिङे गैँडा

गोरखापत्र समाचारदाता
ललितपुर । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरिएको छ ।

नेकपा (एमाले) महासचिव ईश्वर पोखरेलले शुक्रबार महाधिवेशनको लोगो सार्वजनिक गर्नुभएको हो । मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने राष्ट्रिय सम्मेलनका लागि सार्वजनिक लोगोमा पर्यावरण र राजनीतिक प्रतिबिम्बका रूपमा एकसिङे गैँडाले कम्युनिस्ट पार्टीको झण्डा उचालिरहेको छ । साथमा एमालेको चुनाव चिह्न सूर्य राखिएको छ । महाधिवेशनका लागि ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई पराजित गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने मुख्य नारासमेत सार्वजनिक गरिएको छ ।

ललितपुरको च्यासलस्थित तुल्सिलाल स्मृति प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले आठ लाख पार्टी सदस्यहरू, समर्थक, शुभेच्छुकको आर्थिक सहयोगले महाधिवेशन सम्पन्न गरिने बताउनुभयो ।

उहाँले महाधिवेशनमा स्वतः प्रतिनिधि, निर्वाचित र बढीमा पाँच प्रतिशत मनोनीत गरी तीन किसिमका प्रतिनिधिको रहने बताउनुभयो ।
यस्तै प्रचार विभाग प्रमुख योगेश भट्टराईले यस पटक भित्तेलेखन, पोस्टर र ब्यानरलाई पूर्ण निषेध गर्दै डिजिटल प्रचारमा जोड दिइने बताउनुभयो । यद्यपि राजमार्ग क्षेत्रमा रहेका होर्डिङ बोर्डलाई भने प्रचारमा उपयोग गरिने जनाइएको छ ।

त्यस्तै पार्टीको वेभसाइट, फेसबुक पेज, युट्युब, एसएमएसलगायत सामाजिक सञ्जाललाई प्रयोग गरिने प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिनुभयो । यससँगै देशैभरका ७५३ वटा पालिकाहरूमा १०औँ महाधिवेशन केन्द्रित छलफल गर्ने, काठमाडौँ, चितवनलगायत प्रदेशका राजधानी केन्द्रित रही बुद्धिजीवी परिषद्ले छलफल चलाउने र मङ्सिर ७ गते सम्पूर्ण जिल्ला र प्रमुख सहरहरूमा मोटरसाइकल ¥याली गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्