प्रदेश नं. १ स्तरीय तेक्वाण्डो प्रतियोगिताको उपाधि आयोजक कानेपोखरीलाई

प्रदेश नं. १ स्तरीय तेक्वाण्डो प्रतियोगिताको उपाधि आयोजक कानेपोखरीलाई

विराटनगर । प्रथम अध्यक्ष कप प्रदेश नं. १ स्तरीय तेक्वाण्डो प्रतियोगिताको उपाधि आयोजक कानेपोखरीले हात पारेको छ ।

मोरङको कानेपोखरी गाउँपालिका–६ रमाइलोमा सम्पन्न प्रथम अध्यक्ष कपमा ८ स्वर्ण, ८ रजत र ९ कास्य पदक जित्दै आइटिएफ तेक्वाण्डो डोजाङ्ग कानेपोखरीले प्रतियोगिताको उपाधि हात पारेको हो । प्रतियोगितामा ८ स्वर्ण, २ रजत र ३ कास्य पदक हात पार्दै सुनसरीले द्धितीय स्थान ओगटेको छ । यस्तै ७ स्वर्ण, ९ रजत र ६ कास्य गरि कुल २२ पदक हात पार्दै झापा भने तृतीय स्थान हाँसिल गर्न सफल भएको छ ।

प्रतियोगितामा महिलातर्फको उत्कृष्ट खेलाडी मोरङकी इन्दिरा थापा र पुरुषतर्फको खेलाडी सुनसरीका निकेश कटुवाल घोषित भए । प्रतियोगिताको अनुशासित टिमको मेडल भने पाँचथरले लग्यो । ईन्स्पायरिङ जुनियर महिला तर्फ २०/२५ केजी तौल समूहमा सुनसरीकी सदिक्षा राई प्रथम, आयोजक सुनिता तामाङ द्धितीय र सुवानी राज भण्डारी तथा जेनिसा धिमाल तृतीय भईन् । यस्तै पुरुषतर्फको सिनियर ५०/५५ तौल समूहको खेलमा सुनसरीका अनोज राई प्रथम, झापाका मनिष श्रेष्ठ द्धितीय र आयोजक हरी श्रेष्ठ तथा मोरङका अर्जुन गिरी तृतीय घोषित भए ।

यसैगरि पँहेलो प्यार्टनतर्फको खेलमा आयोजक टीमबाट बेनिसा धिमाल प्रथम र मोरङकी प्रिन्सा कार्की द्धितीय भईन् । महिला हरियो बेल्टतर्फ आयोजक टीमकी स्वतिका माझी प्रथम भईन् । यस्तै पुरुषतर्फको पँहेलो पेटी प्यार्टन तर्फको खेलमा आयोजकका आर्यन राई प्रथम र मोरङका मन्दिप माझी द्धितीय भए । यस्तै पुरुषतर्फको हरियो पेटी प्यार्टनतर्फको खेलमा आयोजकका रिवाज फुयाल प्रथम र मोरङका विशाल खत्री द्धितीय घोषित भए । खेलमा पुरुष निलो पेटी प्याटनतर्फ आयोजकका आशिष भूजेल र रातो पेटी प्याटनतर्फको खेलमा आयोजककै निश्चल लिम्बु प्रथम घोषित भए ।

दुईदिनसम्म सञ्चालन भएको प्रतियोगितामा मोरङ, सुनसरी, उदयपुर, झापा, ताप्लेजुङ, इलाम, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ र आयोजक कानेपोखरीका गरि कुल २५० खेलाडी सहभागी भएका थिए । प्रतियोगितामा पुरुषतर्फ २० देखि ८० केजीमाथि र महिलातर्फ २० देखि ७० केजीमाथि तौलसम्मका खेलाडी बिच प्रतिस्पर्धा भएको थियो ।

कार्यक्रममा बोल्दै कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले खेलाडी राष्ट्रको गहना भएकोले खेलकुद क्षेत्रको विकासमा स्थानीय सरकार लागि परेको बताए । उनले नयाँ खेलाडी उत्पादन गर्न तथा खेलाडीहरुलाई व्यावसायिकता तर्फ उन्मुख गराउन यस्ता प्रतियोगितालाई निरन्तरता दिईने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा आइटिएफ तेक्वाण्डो महासंघको केन्द्रीय अध्यक्ष अन्जन धमलाले राज्यले खेलकुद क्षेत्रलाई प्राथामिकतामा राख्नुपर्ने बिषयमा जोड दिए । नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघका अध्यक्ष तथा आइटिएफ तेक्वाण्डोका उपाध्यक्ष प्रविण कुमार कार्कीले ग्रामीण क्षेत्रसम्म तेक्वाण्डोका खेलाडीहरू उत्पादन हुन थालेको भन्दै राज्यले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिनुपर्ने बताए । ‘राज्यले अहिले पनि खेलकुद क्षेत्रमा पर्याप्त बजेट छुट्याउन सकेको छैन,’ उनले भने, ‘खेलाडीहरु राष्ट्रलाई अन्तराष्ट्रिय स्तरसम्म परिचित गराउने गहना हुन । त्यसैले खेलाडीलाई व्यवसायिक र आत्मनिर्मभर बनाउन राज्यले खेलकुद क्षेत्रलाई प्राथामिकतामा राख्नुपर्दछ ।’

खेलप्रतिको मोह जगाउँदै दुव्र्यसन र कुलतबाट टाढा रही स्वास्थ्य जीवन जिउने उद्देश्यले खेलकुद प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक तथा कानेपोखरी आइटिएफ तेक्वाण्डो डोजाङ्गका अध्यक्ष युवराज भुजेलले बताए । प्रतियोगितामा भने तेक्वाण्डोका खेलाडीहरूले आ–आफ्नो कला समेत प्रर्दशन गरेका थिए । प्रदेश नं. १ तेक्वाण्डो संघको समन्वयमा कात्तिक २६ र २७ गते दुई दिवसीय तेक्वाण्डो प्रतियोगिता आयोजना गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्