विराटनगरको जामुनगाछीमा जनप्रतिनिधिलाई निषेध

विराटनगरको जामुनगाछीमा जनप्रतिनिधिलाई निषेध

विराटनगर । विराटनगरमा मुख्य राजमार्ग पश्चिम क्षेत्रमा विकास निर्माणका कार्यले पुर्णता पाउन सकेको छैन् ।

विराटनगरका अन्य क्षेत्रहरुमा विकास निर्माण कार्यहरु सम्पन्न भईसकेको भएपनि वडा नं. ४ र ५ का बासिन्दाले विकासको अनुभुति गर्न पाएका छैनन् । सडक, नाला, ढल तथा ड्रेनेज निर्माण लगायतका कार्यहरु अझैपनि सम्पन्न हुन नसकेको उनीहरुले बताएका छन् । विराटनगर–५ गणेश चोकदेखि केशलिया खोलासम्मको करिब ३ किलोमिटर क्षेत्रमा विकासका गतिविधिहरु अधुरै छोडिएको उनीहरुको गुनासो छ । शनिबार सामुहिक विरोध र्‍याली निकाल्दै उनीहरुले वडा नं. ४ र ५ का जनतासँग विकास निर्माणका कार्यमा पनि भेदभाव गर्न खोजिएको आरोप लगाएका छन् । निर्वाचित जनप्रतिनिधिले समेत ध्यान नदिँदा अधुरै छोडिएका संरचनाहरु पनि भत्किँदै गएको र सडकको धुलोका कारण बालबालिकाहरु पनि बारम्बार बिरामी पर्ने गरेको स्थानीय राजकुमार मेहताले बताए ।

निर्माण कम्पनीले पनि जामुनगाछीमा नाला ड्रेन बनाउँदा ठुल्ठुला भ्वाङहरु त्यसै छोडिदिएको छ । बालबालिका तथा पैदलयात्रीको खुट्टा छिरेर घाईते हुनुका साथै यसले दुर्घटनाको जोखिम समेत उच्च भएको छ । सम्पन्न भएका संरचनाहरुमा पनि करोडौंको भ्रष्ट्राचार भएको स्थानीय बताउँछन् । हाईवे पश्चिमको एरियामा मापदण्ड अनुसार निर्माण कार्य नभएकै कारण हाल आफुहरु संघर्षमा ओर्लिएको विराटनगर–५ का मनोज बिक्रम शाहीले बताए ।

हाल स्थानीयले भने जामुनगाछीदेखि केशलिया खोलासम्मको क्षेत्रलाई राजनितिक दल निषेधित क्षेत्र घोषणा गरेर २३ बुँदे माग सहितको ज्ञापनपत्र विभिन्न १८ निकायमा पठाएका छन् । संविधानले व्यवस्था गरेका मौलिक हकको ग्यारेन्टी गरिनुपर्ने, युवाहरुलाई रोजगारको व्यवस्था हुनुपर्ने, संसदमा जनताको समस्या हुने प्रकृतिका कानुुन निमार्ण गरिनुपर्ने, जनप्रतिनिधि जवाफदेही बन्नुपर्ने तथा सहज र सुलभ व्यावसायिक कर्जाको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ । ज्ञापनपत्रमा उल्लेख मागहरु सम्बोधन नभए विकास विरोधी जनप्रतिनिधिहरुलाई समेत बहिष्कार गरिने स्थानीय उत्तम दाहाले बताए ।

हाल विराटनगर ४ र ५ को क्षेत्रमा सामान्य बाटोघाटो निर्माणको कार्य समेत सुरु हुन सकेको छैन् । जसले गर्दा स्थानीयको दैनिकि पनि कष्टकर बन्दै गएको छ । जग्गाजमिन तथा व्यावसायिक प्रयोजनका लागि बनाईएका सटरहरुको मोल समेत घट्दै गएको स्थानीय बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्