कोलेराविरुद्धको खोप लगाइँदै

<span class='c1'>कोलेराविरुद्धको खोप</span> <span class='c2'>लगाइँदै</span>

काठमाडौँ । झाडापखालाविरुद्धको दुई लाख ५२ हजार ३६३ मात्रा खोप नेपाल आएको छ । कपिलवस्तुको हैजा प्रभावित क्षेत्रका बासिन्दालाई अर्को हप्ताबाट कोलेराविरुद्धको खोप दिइँदैछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आइतबार युनिसेफ र विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिले मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई कोलेराविरुद्धको खोप हस्तान्तरण गर्नुभयो । युनिसेफका नेपाल निर्देशक इल्केविस र विश्व स्वास्थ्य सङ्गठनका खोप प्रमुख डा. विनोद बुराले सचिव पोखरेललाई खोप हस्तान्तरण गर्नुभएको हो । कतार एयरको नियमित उडानबाट दुई लाख ५२ हजार ३६३ मात्रा खोप दिउँसो ३ बजे काठमाडौँ आइपुगेको हो । सनोफी हेल्थ केयर इन्डिया प्रालिले बनाएको उक्त खोप विश्व स्वास्थ्य सङ्गठन, गाभी र युनिसेफको सहयोगमा नेपाल आएको हो । कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले खोप काठमाडौँ आइसकेकोले अर्को हप्ता कपिलवस्तुका हैजा प्रभावित पाँचवटा पालिकाका स्थानीयवासीलाई लगाइने बताउनुभयो । खोप एक पटक लगाएपछि पाँच वर्षसम्म सुरक्षित रहने विभिन्न अध्ययनले देखाएको उहाँले जानकारी दिनुभयो ।

खोपको आवश्यक तयारी पूरा
जिल्लामा फैलिएको हैजा नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु खोप लगाउने तयारीमा जुटेको छ । आइतबार जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा जिल्ला खोप समन्वय समितिको बैठक बसी खोप अभियान सुरु गर्ने निर्णय गरिएको छ । प्रकोप फैलिएको पालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहितको बैठक बसी खोप लगाउने र नियन्त्रणका योजना बनाइएको छ । जिल्लामा कृष्णनगर नगरपालिका, शिवराज नगरपालिका, महाराजगञ्ज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिका हैजा प्रभावित क्षेत्र रहेका छन् ।

ती पालिकाका एक वर्षदेखि माथिका सबै नागरिकलाई खोपको दायरामा ल्याई हैजा नियन्त्रण गर्न मङ्सिर ५ गतेदेखि यशोधरा गाउँपालिकाबाट खोप अभियान सुरु गरिने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेयले बताउनुभयो । अन्य चार पालिकामा मङ्सिर ७ गतेदेखि खोप सञ्चालन हुने बताइएको छ । खोप अभियानमा शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी छ दिनसम्म लगातार चलाइने जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताउनुभयो ।

जिल्लाका लागि दुई लाख ५२ हजार ३६३ मात्रा खोप उपलब्ध हुने स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताउनुभयो । यशोधरा गाउँपालिकामा ३७ हजार ७८३, महाराजगञ्ज नगरपालिकामा ५३ हजार १५६, कृष्णनगर नगरपालिकामा ६० हजार ७४३, शिवराज नगरपालिकामा ६४ हजार ७७८ र विजयनगर गाउँपालिकामा ३५ हजार ९०३ मात्रा खोप वितरण हुने बताइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा विश्व स्वास्थ्य सङ्गठनबाट उपलब्ध गराइएको ‘ओरल कोलेरा भ्याक्सिन’ पहिलो मात्रा लाएको १४ दिनपछि दोस्रो पटक पुनः लगाउनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क आइतबार साँझ ६ बजेसम्म शिवराज अस्पताल बहादुरगञ्जमा एक हजार ३७१, बैदौली स्वास्थ्य चौकीमा ९० र शिवराज आधारभूत अस्पतालमा छ जना उपचारका लागि भर्ना भएका थिए । जिल्लामा हैजाका कारण ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ ।
साभार:गाेरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्