मोतीपुर र सन्धिखर्क सबस्टेसन निर्माण अन्तिम चरणमा

<span class='c1'>मोतीपुर र सन्धिखर्क सबस्टेसन</span> <span class='c2'>निर्माण अन्तिम चरणमा</span>

काठमाडौं । कपिलवस्तुको बाणगङ्गा नगरपालिका–७ र अर्खाखाँचीको सन्धिखर्कमा १३२/३३/११ केभी सबस्टेसन आगामी पुस महिनाभित्र सञ्चालनमा ल्याइने भएको छ । कपिलवस्तुको मोतीपुर र अर्घाखाँचीको सन्धिखर्क सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेसँगै क्रमशः मङ्सिर १५ गते र पुस १५ गतेभित्र सञ्चालनमा ल्याउने तयारी भएको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मोतीपुर सबस्टेसन र प्रसारण लाइन निर्माणस्थलको अनुगमन गरी तोकिएको समयभन्दा अगाडि नै काम सकेर सञ्चालनमा ल्याउने तयारी रहेको बताउनुभयो ।

‘अर्घाखाँची, पाल्पा, गुल्मी जिल्लाबाट झ्याप्प झ्याप्प बत्ति जाने गरेको भन्दै सिधै फोन गरी गुनासो आउने गरेको छ । उपभोक्ताबाट समस्या भएको कुरा आएको छ,’ निर्देशक घिसिङले भन्नुभयो, ‘त्यसैले सबस्टेसन र प्रसारण लाइनको निर्माण जतिसक्दो छिट्टो सम्पन्न गरी उपभोक्तालाई गुणस्तरीय र भरपर्दो विद्युत् प्रदान गछौं ।’

उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियानमा रहेको उल्लेख गर्दै सबस्टेसन र प्रसारण लाइनको निर्माणपछि यस क्षेत्रका उद्योगहरुलाई चाहिने जति विद्युत् दिन सकिने उहाँले बताउनुभयो ।

कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, बागलुङ जिल्लाको विद्युत् आपूर्ति सुधार गर्न, ट्रिपिङको समस्या समाधान गर्न, प्राविधिक चुहावट घटाउन र निजीक्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि आयोजनाको निर्माण गरिएको उहाँले बताउनुभयो । आयोजनाअन्तर्गत गुल्मीको तम्घास, पाउदी अमराई र बागलुङको बुर्तिबाङमा सबस्टेसन निर्माणाधीन अवस्थामा छन् ।

यसैगरी, बुर्तिवाङ–पाउदी अमराई–तम्घास–सन्धिखर्क गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मोतीपुर र सन्धिखर्क सबस्टेसनमा निर्माणको अन्तिम चरणका काम भइरहेको छ । सबस्टेसनमा ३० र १६ एमभीएका पावर ट्रान्सफर्मरहरु रहनेछन् । सबस्टेसनका सम्पूर्ण उपकरणहरको जडान सम्पन्न गरी परीक्षण भइरहेको छ ।

पूर्व–पश्चिम १३२ केभी लाइनलाई आठ वटा टावर निर्माण गरी मोतीपुर सबस्टेसनमा लगिनेछ । यसका लागि टावर निर्माण भइसकेका छ भने तार तान्ने काम भइरहेको छ ।

आयोजनाअन्तर्गतको मोतीपुर–सन्धिखर्क खण्डको प्रसारणलाइनमा पर्ने १०६ वटा टावरको जग हालिएको छ । ८७ वटा टावर खडा गरिएको छ भने १२ किलोमिटर तार टाँगिएको छ ।

यस खण्डको प्रसारण लाइनको लम्बाइ ६८ किलोमिटर छ । प्रसारण लाइनको निर्माण आगामी पुस १५ गतेभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य छ ।

मोतीपुर–सन्धिखर्क प्रसारण लाइन र सबस्टेसनहरुको निर्माण सम्पन्न भइ सञ्चालनमा आएपछि त्यहाँबाटै स्थानीय क्षेत्रमा विद्युत् आपूर्ति गरिनेछ । यसबाट कपिलवस्तु, अर्घार्खाची, पाल्पा, गुल्मी जिल्लाको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ । विद्युतको प्राविधिक चुहावटको पनि कम हुनेछ ।

अहिले बुटवलबाट ३३ केभी प्रसारण लाइनमार्फत अर्घाखाँची, पाल्पा, गुल्मीमा विद्युत् आपूर्ति हुँदै आएको छ । ३३ केभी प्रसारण लाइन धेरै लामो हुँदा लाइन ट्रिपिङ भएर मिनेट–मिनेटमा बत्ती जाने र भोल्टेजको समस्या छ । साथै प्राविधिक चुहावट हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्