नक्कली मल बनाउने गिरोह पक्राउ

नक्कली मल बनाउने गिरोह पक्राउ

बिर्तामोड । कृषकले रासायनिक मल नपाएर हाहाकार भइरहेका बेला झापामा नक्कली मल बनाइने गरेको फेला परेको छ ।

झापाको कनकाई नगरपालिका–३, सुरुङ्गाका तिलक पौड्यालको घरमा नक्कली मल बनाउँदै गरेको फेला परेको हो । नुनमा रातो माटो मिसाएर बोरामा नक्कली पोटास बनाई बिक्रीका लागि लैजान ठिक्क पारेको १६ बोरा तयारी नक्कली पोटास र बनाउँदै अवस्थाको मल भनिएको वस्तु र बनाउन प्रयोग गरिने पदार्थ बरामद भएको छ । केही बोरा भुइँमा राखिएको नुन र रातो माटो, बोरा सिलाउने सियो धागो र करिब ५० वटा खाली नुनका बोरा फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै सुरुङ्गा बजारमा रहेको भट्टराई कृषि भण्डारमा बिक्रीका लागि राखिएको १३ बोरा नक्कली तयारी पोटाससमेत फेला परेको छ ।
इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाको नेतृत्वमा गएको प्रहरी टोलीले पौडेलको घर पछाडिबाट नक्कली पोटास बनाउँदै गरेको अवस्थामा दसीसहित फेला पारेको हो । सादा पोसाकमा गएको प्रहरीलाई देख्नासाथ नक्कली पोटास बनाउने चार जनाको समूह भागेको प्रहरीले जनाएको छ ।

घरधनी अटोरिक्सा चालकसमेत रहेका तिलक पौडेल र नक्कली मल बिक्री गर्दै आएका भट्टराई कृषि भण्डारका कमल भट्टराईलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बिर्तामोडमा लगिएको प्रहरी नायब निरीक्षक जिम्बाले बताउनुभयो । भट्टराई कृषि भण्डारबाट झापा तथा पहाडका जिल्लामा रासायनिक मल आपूर्ति हुँदै आएको थियो । उक्त पसलबाट नक्कली मल आफैँ बनाएर बिक्री भएको थाहा हुनासाथ आफूले किनेको मल लिएर सयौँ कृषकले विरोध प्रदर्शन गरेका छन् ।

मल नपाएको बेला महँगो मूल्य तिरेर खेतमा हालेको मल नै नक्कली भएको पाइएपछि मलको कालोबजारी र नक्कली मल बनाउने गिरोहलाई कारबाही नहुने हो भने कृषक सधैँ पीडामा हुने स्थानीय कृषक राजकुमार श्रेष्ठले बताउनुभयो । प्रहरीले नक्कली मल बनाउने गिरोहको पहिचान भइसकेकाले सबैलाई पक्राउ गरी कारबाही हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्