विराटनगर । विराटनगर क्षेत्रमा पार्किङको अभाव हुँदा सवारी आवागमन र व्यवस्थापनमा समस्या परेको भन्दै अस्थायी पार्किङस्थलको व्यवस्थापन गरिने भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा बुधबार बसेको सरोकारावाला निकायको बैठकले सात दिन भित्रमा वैकल्पिक पार्किङस्थलको पहिचान गर्ने निर्णय गरेको हो ।
यसका लागि विराटनगर महानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई पार्किङस्थल बनाउने जग्गाको पहिचान गर्ने जिम्मेवारी दिइएको छ ।
विराटनगरका सडक क्षेत्रमा गरिने पार्किङका कारण ट्राफिक जामको समस्या भएको भन्दै जग्गा भाडामा लिएर वा सार्वजानिक जग्गालाई पार्किङस्थल बनाउने तयारी थालिएको हो । बैठकमा प्रमुख जिल्ला अधिकारी दाहालले जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख चन्द्र खड्का र विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेतलाई पार्किङस्थलको जग्गा पहिचान गर्न निर्देशन दिनु भएको थियो ।