विराटनगर बजारका सडक पेटी खालि गरिने

विराटनगर बजारका सडक पेटी खालि गरिने

विराटनगर । विराटनगर बजार क्षेत्रमा सडक पेटी (फुटपाथ)मा सामान राखेर व्यापार गर्ने व्यापारीमाथि स्थानीय प्रशासनले कडाई गर्ने भएको छ । आफ्नो पसल अगाडी पर्ने सडकको सीमा क्षेत्रमा सामान राखेर व्यापार गर्दा पैदल हिड्ने नगरवासीलाई असजिलो भएपछि स्थानीय प्रशासनले सडक पेटी खाली गराउने भएको हो ।

सडक पेटीमा व्यापारीले सामान राख्दा पैदल हिड्नेहरुलाई असजिलो पर्दै आएको छ । सडक पेटीबाट हिड्न नसकेपछि सडकमै हिड्नुपर्ने बाध्यताले यातायात आवागमनमा समस्या पर्दै आएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सडक अतिक्रमण गरेर राखिएका सामाग्री हटाउने निर्णय गरेको हो ।

यसका लागि विराटनगर महानगरपालिकाले सुरुमा व्यापारीलाई सूचना दिने र नमानेको अवस्थामा प्रशासनले सामान नियन्त्रणमा लिएर जफत गर्ने भएको हो ।
बैठकमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले स्थानीय निकायले जारी गरेको सूचनालाई अटेर गरेको खण्डमा प्रहरी परिचालन गरेर सामान नियन्त्रणमा लिइने बताउनुभयो । बैठकले महानगरपालिका भित्रको अव्यवस्थित फोहोर व्यवस्थापनमा समेत ध्यान पु¥याउने निर्णय गरेको छ ।

कतिपय व्यापारीले सटर भाडामा लिएर व्यापार गर्ने र त्यसको अगाडी पट्टीको सडकको भाग साना व्यापारीलाई भाडामा लगाएर रकम असुल्ने गर्दै आएका छन् । यस्ता व्यापारीको पहिचान गरेर स्थानीय प्रशासनले कडा कारवाही गर्ने तयारी गरेको छ । कतिपय व्यापारीले भने सडक पेटीमा आफ्नो सामानको प्रदर्शन गरेर राख्ने गरेका छन् । यस्ता सामानले पैदल हिड्नेलाई समस्या हुँदा सवारी गुड्ने सडकमा नागरिकको भीड लाग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्