स्वास्थ्यचौकीको भवन अलपत्रः सेवा प्रभावित

स्वास्थ्यचौकीको भवन अलपत्रः सेवा प्रभावित

खप्तड । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–२ स्थित जयवागेश्वरी स्वास्थ्यचौकीको भवन निर्माण सुरु भएको सात वर्ष वितिसक्दा पनि बन्न सकेको छैन ।

भवन निर्माणका लागि २०७२ साल मङ्सिर १३ गते दुई वर्षमा काम सम्पन्न गर्ने गरी सम्झौता भएको तर सातवर्ष वितिसक्दा पनि निर्माण सम्पन्न नभएको सो स्वास्थ्यचौकी कार्यालयले जनाएको छ ।

रु एक करोड ६९ हजार १६ हजार ५३२ मा यमकेदेवी सिंह जेभी धनगढीले सम्झौता गरेर काम सुरु गरेको थियो । काम गर्ने सम्पर्क व्यक्ति भने त्यहाँका स्थानीयवासी बमबहादुर शाही रहेको कार्यालयले जनाएको छ । सम्झौताका बेला २०७४ मङ्सिर १३ गते सम्पन्न गर्ने गरी भएको थियो । तर ठेकेदारको लापरबाहीका कारणले अहिलेसम्म पनि काम सम्पन्न नभएको पाइएको छ ।

भवन निर्माण काम भने सङ्घीय सरकारअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजना राजपुर डोटीबाट सुरु भएको हो । कार्यालयका सवइञ्जिनीयर अभिषेक मलासनीका अनुसार काम गर्ने ठेकेदारको लापरवाहीका कारण भवन निर्माण अलपत्र परेको बताउनुभयो ।

भवन निर्माण गर्ने ठेकेदारलाई पटक–पटक ताकेता गर्दा पनि बेवास्ता गरेको कार्यालयले जनाएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले तीन पटकसम्म म्याद थप गर्दा पनि काम हुन नसकेको बताइएको छ । काम सम्पन्न गर्ने गरी म्याद थप गरेको मलासनीको भनाइ छ । भवन निर्माण नहुँदा स्वास्थ्यचौकी जीर्ण भवनमा सञ्चालन भइरहेको स्वास्थ्यचौकी इन्चार्ज बद्री सुनारले बताउनुभयो । पुरानो चुहिने घरमा बिरामीको उपचार भइरहेको छ । प्रसूति सेवादेखि स्वास्थ्य उपचार सेवा पनि एउटै कोठामा गर्नुपरिरहेको बाध्यता रहेको सुनारको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भवन अलपत्र रहेको बारेमा प्रशासनमा कुनै जानकारी नआएको बताउनुभयो । स्वास्थ्यचौकीको भवन अलपत्र अवस्थामा र निर्माण कार्यमा ढिलाइ गर्ने ठेकेदार तथा कम्पनीलाई कारबाहीका लागि पत्रचार गर्ने उहाँको भनाइ छ । जयवागेश्वरी स्वास्थ्यचौकी साविकको जयवागेश्वरी गाविसको उपचार गर्ने एक मात्र स्वास्थ्यचौकी रहेको छ ।

यहाँ उपचारका लागि दैनिक २० जनाभन्दा बढी आउने गरेको स्वास्थ्यचौकीले जनाएको छ । २०६८ सालको जनगणना अनुसार जयवागेश्वरीमा ४७३ घर परिवारका दुई हजार ५१२ जनसङ्ख्या छ । उनीहरु सबैको उपचार गर्ने एक मात्र स्वास्थ्यचौकी जयवागेश्वरी स्वास्थ्यचौकी हो । समयमै भवन निर्माण नहँुदा उपचारसेवा समेत प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्