विराटनगरको हिमालय रोडलाई सौन्दर्यीकरण गरिने, कामको सुरुवात शुक्रबारदेखि

विराटनगरको हिमालय रोडलाई सौन्दर्यीकरण गरिने, कामको सुरुवात शुक्रबारदेखि

विराटनगर । विराटनगर–९ को हिमालय रोडलाई सिक्किमको माहात्मा गान्धी रोडकै स्तरमा स्तरोन्नतिकरण र सौन्दर्यीकरण गर्ने कामको सुरुवात शुक्रबारबाट हुने भएको छ ।

फाईनल डिपिआर सहितको स्वीकृत योजना बमोजिम शुक्रबारबाट रोडको सौन्दर्यीकरण गर्ने कार्य सुरु हुने भएको हो । निर्माण संरचनालाई कुनै किसिमको क्षति नपुग्ने गरि कुल १४० मिटरको लम्बाई र नाला बाहेक ११.६ मिटरको चौडाईमा ब्युटिफिकेसनको काम हुने महानगरले जनाएको छ । फुटपाथ समेत अतिक्रमण नहुने गरि आकस्मिक वाहनको आवागमनका लागि पर्याप्त ठाउँ छुट्याएर निर्माण कार्य अघि बढाईने महानगरको तयारी छ । महानगरका अनुसार चारचक्के सवारीसाधन पार्किङका लागि सडकको पश्चिमतर्फ ८०० स्क्वायर फिटको पार्किङ क्षेत्र निर्माण गरिने छ ।

योजना बमोजिम विराटनगरको महेन्द्र चौक र ट्राफिक चौक जोड्ने उक्त सडकखण्डलाई चार सेक्सनमा वर्गीकरण गरि निर्माण कार्य अघि बढाईने छ । जस अन्र्तगत पश्चिमतर्फ सेक्सन ए मा खुल्ला क्षेत्र र विभिन्न कार्यक्रम सञ्चालनका लागि स्टेज तथा सेक्सन बी मा हरियाली पार्क निर्माण गरिने महानगरको योजना छ । सेक्सन सी मा फाउन्टेन वाटरपार्क, जनचेतनामुलक र सडक नाटक लगायतका कार्यक्रम सञ्चालनका लागि एमफी थिएटर तथा सेक्सन डी मा दुईचक्के सवारीसाधनका लागि पार्किङ क्षेत्र बनाईने योजना रहेको महानगरको शहरी विकास तथा योजना महाशाखाका इन्जिनियर सुजनराज श्रेष्ठले बताउनुभयो ।

महानगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मै विराटनगरको हिमालय रोडलाई सौन्दर्यीकरण गर्दै सिक्किमको एमजी रोडको स्तरमा लैजाने निर्णय गरेको थियो । तर, कोभिड महामारी लगायतका कारणले उक्त योेजना कार्यान्वयनमा ढिलाई भएपनि २०७८ असार २२ गते फाईनल डिपिआर सहितको डिजाईन स्वीकृत भएर भदौ २४ गते सम्झौता भएपछि शुक्रबारबाट यसको प्रक्रिया अघि बढ्ने भएको हो । महानगरले असार २७ गते योजनाको बोलपत्र आव्हान गरेको थियो । विराटनगरकै कला विल्र्डसले ३७.५३ प्रतिशत कम कबोल अङ्कमा योजनाको ठेक्का सम्झौता गरेको छ । महानगरले १ करोड ६१ लाख ४२ हजार १८३ रुँपैयाको लागत अनुमान गरेपनि कला बिल्र्डसले १ करोड ८३ हजार २७२ रुँपैयामा योजनाको ठेक्का लिएको महानगरका इन्जिनियर सुजनराज श्रेष्ठले जानकारी दिनुभयो ।

सडकको दुवैतर्फ रहेको पसल व्यावसायलाई कुनै बाधा अवरोध सिर्जना नहुने गरि हिमालय रोडको सौन्दर्यीकरण गरिने महानगरको जनाएको छ । मालसामान ओसारपोसारका लागि सेक्सन बी, सी र डी सम्मको क्षेत्रमा सवारीसाधन लैजान पाईने बिषयलाई समेत ध्यानमा राखी निर्माण प्रक्रिया अघि बढाईएको महानगरको दाबी छ । तर, आसपासका स्थानीय व्यावसायीहरु भने महानगरको यो योजनाप्रति असन्तुष्ट छन् । महानगरको मेनरोडलाई कोशी राजमार्गसँग जोड्ने लिङ्क रोडको रुपमा स्थापित उक्त क्षेत्रमा महानगरको योजना अनुसारको संरचना ठडिँदा यसले ट्राफिक जाम लगायतका समस्या बढ्ने उनीहरुको भनाई छ ।

तर, महानगरले भाबी अवस्थालाई ध्यानमा राखेरै निर्माण प्रक्रिया अघि बढाईएको दाबी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्