उदाहरणीय बन्नुभयाे –महिला वडाध्यक्ष पशुपति चौधरी

उदाहरणीय बन्नुभयाे –महिला वडाध्यक्ष पशुपति चौधरी

उदयपुर । स्थानीय तहसँगै नेपालमा समावेशीताको अभ्यास देखिन थालेको छ ।

महिला नेतृत्व विकासका लागि ल्याइएको समावेशी नीति अनुरुप स्थानीय तहमा केही महिला नेतृत्वको अभ्यास देखिन थालेको हो । पुरुषले जति गर्न सक्दैनन् भन्ने सामाजिक मानसिकता परिवर्तत गर्न महिला नेतृत्व उदाहरणीय पनि भएको छ । यसको एउटा उदाहरण उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १३ हो ।

चारवर्षअघि स्थानीय तहको सरकार विस्तार हुने क्रममा त्रिनपा, १३ नं. वडाको नेतृत्व पशुपति चौधरीले पाउनुभयो । उहाँ जिल्लाको आठ स्थानीय तहमध्ये चार नगरपालिका भरकै एकमात्र महिला वडाध्यक्ष हुनुहुन्छ । पुरुष प्रतिद्वन्द्वीलाई पछाडि पार्दै वडाध्यक्ष बन्नुभएकी वहाँले सफल र असल महिला नेतृत्वको परिचय बनाउनुभएको छ ।

उहाँले नागरिकको प्रभावकारी सेवाका लागि वडा कार्यालय महिलामैत्री बनाउनुभएको छ । वडा कार्यालयमा सबै कर्मचारी महिला छन् । कर्मचारीहरुको नेतृत्व वडासचिव भीमा राईले गर्नुभएको छ । महिलामैत्री सो वडाको काम, गतिविधि चुस्तदुरुस्त रहेको दावी वडाध्यक्ष चौधरीको छ । मुख्य गरी सर्वसाधारण वडावासीलाई प्रभावकारी सेवा दिन सफल रहेको वडा सचिव भीमा राईले बताउनुभयो । “आजसम्म कुनै सर्वसाधारणले गुनासो पोख्नुपरेको छैन ” उहाँले भन्नुभयो “वडाले सम्पादन गर्नुपर्ने कामकाज प्रक्रियाभित्र गरिन्छ । प्रक्रिया नबुझेका सेवाग्राहीलाई सम्झाई–बुझाई छिटो, छरितो ढङ्गले गरिदिने गरेका छौँ ।”
वडाध्यक्षले वडाबासीको साह्रो, गाह्रो र अप्ठ्यारोमा एउटा परिवारको सदस्य झैं व्यवहार देखाएर सहयोग गरिदिने सेवाग्राहीहरु बताउँछन् । “वहाँहरुको सेवादेखि हामी खुसी छौँ” सेवाग्राही तेजबहादुर राईले भन्नुभयो “हामीलाई चाहिएको साह्रो, गाह्रो र अप्ठेरोमा सहयोग त हो नी !”

नगरका मेयर बलदेव चौधरीले सो वडा जिल्लामै महिलामैत्री वडाको रुपमा नमुना बनेको बताउनुभयो । “त्यहाँ महिला नेतृत्व पुरुषभन्दा कम छैन” मेयर चौधरीेले भन्नुभयो “सर्वसाधारण जनताको समस्या र भावना बुझ्ने सन्दर्भमा त अझ बढी महिला नेतृत्व प्रभावकारी देखिएको छ ।”

छ हजार ८३२ जनसङ्ख्या रहेको सो वडा भौतिक पूर्वाधारमा अग्रस्थानमा छ । थारुहट रङ्गशाला, पूर्वपश्चिम बरुवा बसपार्क सोही वडामा रहेको छ । जिल्लाकै ठूलो कृषि उपज सङ्कलन केन्द्र तथा कृषि बजार र १ नं. प्रदेशलाई नै लक्षित गरी निर्माण गरिएको मदन भण्डारी सभाहल सोही वडामा पर्दछ । वडादेखि पालिका र प्रदेशकै गौरवका योजनाहरुको सफल संयोजन गर्न सफल वडाध्यक्ष वडाभित्रका अन्य सामाजिक, आर्थिक, कृषि, पर्यटन, उद्यम लगायतको विकासमा अब्बल छ । वडाभित्र शिक्षा, स्वास्थ्य, सञ्चार, सडक, विद्युत, सिंचाइको व्यवस्था छ ।
वडाजनप्रतिनिधि नेतृत्व महिला, कर्मचारी महिला रहेर वडाको कार्य सम्पादन गरिरहँदा जनताको साथ, सहयोग पाइएको वडाध्यक्ष चौधरीले बताउनुभयो । बेलाबेला विविध चुनौतीको सामना गर्दै कार्यसम्पादन गरिरहँदा थप ऊर्जा र ज्ञान, अनुभव मिलिरहेको उहाँले बताउनुभयो ।

“वडाध्यक्ष महिला पो ! भन्दै आश्चर्य मान्नेदेखि खुसी भएर बधाइ दिनेसम्मका सेवाग्राही आउँछन् ।” उहाँले भन्नुभयो “महिला पनि नेतृत्वमा अब्बल सावित हुनसक्छन् भन्ने देखाउन चाहन्छु, सफलता मिलेको पनि छ ।” वडाध्यक्ष चौधरी लिंगीय हिसावले हैन, कामैले सफल महिला नेतृत्व बन्नुभएको छ ।

साभार:गाेरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्