विराटनगर । विराटनगर–९ को हिमालय रोडलाई सौन्दर्यीकरण गर्ने उद्देश्य सहित आजबाट कन्स्ट्रक्सनको काम सुरु भएको छ ।
फाईनल डिपिआर सहितको स्वीकृत योजना र लेआउट अनुसार आजबाट कन्स्ट्रक्सनको काम सुरु भएको हो । हिमालय रोडलाई सिक्किमको माहात्मा गान्धी रोड जस्तै बनाउने विराटनगर महानगरपालिकाको तयारी छ । निर्माण संरचनालाई कुनै किसिमको क्षति नपुग्ने गरि कुल १४० मिटरको लम्बाई र नाला बाहेक ११.६ मिटरको चौडाईमा ब्युटिफिकेसनको काम गर्ने महानगरले जनाएको छ । महानगरका अनुसार फुटपाथ समेत अतिक्रमण नहुने गरि आकस्मिक वाहनको आवागमनका लागि पर्याप्त ठाउँ छुट्याएर निर्माण कार्य अघि बढाईएको छ ।
स्वीकृत योजना बमोजिम विराटनगरको महेन्द्र चौक र ट्राफिक चौक जोड्ने उक्त सडकखण्डलाई चार सेक्सनमा वर्गीकरण गरि निर्माण कार्य अघि बढाईएको छ । जस अन्र्तगत पश्चिमतर्फ सेक्सन ए मा खुल्ला क्षेत्र र विभिन्न कार्यक्रम सञ्चालनका लागि स्टेज तथा सेक्सन बी मा हरियाली पार्क निर्माण गरिने महानगरको योजना छ । सेक्सन सी मा फाउन्टेन वाटरपार्क र जनचेतनामुलक तथा सडक नाटक लगायतका कार्यक्रम सञ्चालनका लागि एमफी थिएटर र सेक्सन डी मा दुईचक्के सवारीसाधनका लागि पार्किङ क्षेत्र बनाईने योजना रहेको महानगरका इन्जिनियर सुजनराज श्रेष्ठले बताए । उनले विराटनगरकै कला विल्र्डसले ३७.५३ प्रतिशत कम कबोल अङ्कमा योजनाको ठेक्का सम्झौता गरि काम अघि बढाएको जानकारी दिए । महानगरले १ करोड ६१ लाख ४२ हजार १८३ रुँपैयाको लागत अनुमान गरेपनि कला बिल्र्डसले भने मात्र १ करोड ८३ हजार २७२ रुँपैयामा योजनाको ठेक्का सम्झौता गरेको उनको भनाई छ ।
सडकको दुवैतर्फ रहेको पसल व्यावसायलाई कुनै बाधा अवरोध सिर्जना नहुने गरि हिमालय रोडको सौन्दर्यीकरण गरिने महानगरको दाबी छ । मालसामान ओसारपोसारका लागि सेक्सन बी, सी र डी सम्मको क्षेत्रमा सवारीसाधन लैजान पाईने बिषयलाई समेत दृृष्टिगत गर्दै निर्माण प्रक्रिया अघि बढाईएको महानगरले जनाएको छ ।