गुरु नानक जयन्तीका अवसरमा शुभकामना

गुरु नानक जयन्तीका अवसरमा शुभकामना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले गुरु नानक जयन्तीका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँहरूले सिख धर्मावलम्बीहरूको विशेष पर्व गुरु नानक जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण सिख धर्मावलम्बीहरूमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो । राष्ट्रपति भण्डारीले दिनुुभएको सन्देशमा गुरु नानकले समाजमा शान्ति, सद्‍भाव, सहिष्णुता र लोककल्याणका लागि सबै धर्मबीचमा सद्‍भाव कायम राख्‍नका लागि गर्नुभएको मार्गदर्शनको परिपालना गर्नुपर्नेमा जोड दिनुभएको छ ।

गुरु नानकको मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्‍भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्‍वास उहाँले लिनुभएको छ । त्यसैगरी प्रधानमन्त्री देउवाले गुरु नानकले स्थापित गरेका सामाजिक न्यायका मार्गदर्शन अवलम्बन गर्न सकिएमा समाजमा शान्ति स्थापना गरी आपसी सद्भाव, भाइचारा, सहिष्णुताका साथै सामाजिक न्याय प्रगाढ भई राष्ट्रिय एकतालाई थप बलियो हुन बल पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सन्देशमा प्रधानमन्त्री देउवाले गुरु नानक जयन्तीले नेपाली समुदायमा धार्मिक सहिष्णुता कायम गर्दै आपसी सद्भाव र भाइचारा बढाउनेतर्फ प्रोत्साहन मिल्ने विश्वास पनि लिनुुभएको छ । उहाँले समाजमा देखिने विकृति, विसङ्गति एवं विभेदको अन्त्य गर्दै समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने सरकारको प्रयासमा थप बल पु¥याउन गुरु नानक जयन्तीले सबैलाई प्रेरणा प्रदान गर्ने बताउनुभएको छ ।

हरेक वर्षको कार्तिक शुक्ल पूर्णिमाको दिन सिख धर्मावलम्बीहरूद्वारा आस्था र भक्तिभावका साथ पवित्रस्थल ‘गुरुद्वारा’मा भेला भई पूजाअर्चना, भजनकीर्तनका साथै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरु नानकको जन्मजयन्ती मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्