सुनकोसीको पानी घर–घरमा, उपभोक्तालाई राहत

सुनकोसीको पानी घर–घरमा, उपभोक्तालाई राहत

बाबुराम देवकोटा
सुनकोसी (सिन्धुली) । सुनकोसी गाँउपालिका– ६ चैनपुर निवासी राजन कार्कीलाई गत हिउँद मौसमको सुरुसँगै खानेपानीका लागि निकै सकस थियो । यो बर्ष यतिखेर उहाँलाई हाईसन्चो छ । बस्तीभन्दा पाँचसय मिटर तल रहेको सुनकोसीको पानी उहाँको घरमा हरेक दिन आउँछ ।

‘यो वर्षदेखि खानेपानी समस्याबाट मुक्ति मिलेको छ, घर अगाडिको धारामा चौबिसैं घण्टा खानेपानी झरिरहन्छ,’ उहाँले भन्नुभयो, ‘गाँउमा झण्डै दुई बर्षअघि निर्माण सुरु गरिएको चैनपुर सौर्य लिफ्ट खानेपानी आयोजना पूरा भएपछि मैले मात्र होइन, गाँउका ७६ घरधुरीले खानेपानी सुविधा पाएका छौं ।’

खानेपानीका लागि पाएको दुःख सम्झेर उक्त योजना पुरा गर्न प्रत्येक घरले पालैपालो ४५ दिनसम्म जनश्रमदान गरेको उहाँले जानकारी दिनुभयो । सो योजनाको अध्यक्ष समेत रहनुभएका कार्कीले भन्नुभयो, ‘अहिले एक घर, एक धारा अभियान अन्तर्गत प्रत्येक उपभोक्ताको घरमा धारा जडान गरिएको छ । खानेपानी उपभोग गरेबापत उपभोक्ताले चार युनिटसम्म न्यूनतम १५० रुपियाँ र त्यसपछि प्रतियुनिट २५ रुपियाँका दरले मासिक शुल्क निर्धारण गरिएको छ ।’

कार्कीका अनुसार गाँउमा खानेपानी सुविधा पु¥याउन सुनकोसी नदीको किनारमा ईनार खनिएको छ । इनारको पानी मोटरको सहायताले पाँचसय मिटर माथि डाँडामा बनाएको २० हजार लिटर क्षमताको पानी सङकलन गर्ने ट्याङ्कीमा खसालिएको छ । त्यसपछि ट्याङ्की पाईपको सहायताले उपभोक्ताको घर–घरमा रहेको धारामा पु¥याइएको छ । ईनारको पानी मोटरको सहायताले डाँडामा रहेको ट्याङ्कीसम्म पु¥याउन सोलार र विद्युत् जडान गरिएको छ ।

त्यस्तै सोही वडाको तीन खोप्रेका बासिन्दाले पनि यो बर्षदेखि खानेपानी समस्याबाट मुक्ति पाएको स्थानीयको भनाई छ । तीनखोप्रेमा पनि चैनपुरजस्तै सुनकोसीको पानी डाँडामा रहेको तीनखोप्रे बस्तीमा पु¥याइएको छ । तीनखोप्रेका ६९ घरमा खानेपानी सुविधा भर्खरै पुगेको तीनखोप्रे सौर्य लिफ्ट खानेपानी आयोजनाका अध्यक्ष लक्ष्मीप्रसाद दाहालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सुनकोसीको किनारमा इनार खनेर इनारको पानी मोटरको सहायताले १८० मिटर माथि डाँडामा रहेको एउटा २० हजार लिटर क्षमताको र अर्को आठ हजार लिटर क्षमताको ट्याङ्कीमा सङ्कलन गरिएको छ । त्यसपछि पाइपको सहायताले उपभोक्ताको घरमा प¥याएका छौं ।’
उहाँका अनुसार खानेपानी योजना निर्माण गर्न तीनखोप्रेका बसिन्दाले पनि डेढ महिनासम्म पालैपालो जनश्रमदान गरेका छन् । घर अगाडिको धारामा चौविसैं घण्टा खानेपानी सुविधा हुँदा उपभोक्ताले करेसाबारीमा तरकारी खेती समेत शुरु गरेका छन् । नेपाल रेडक्रस सोसाइटीको खानेपानी सरसफाई तथा स्वच्छता प्रवर्धन पुनर्लाभ परियोजना अन्तर्गत निर्माण सम्पन्न दुवै खानेपानी आयोजना भर्खरै समुदायलाई हस्तान्तरण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाका परियोजना संयोजक जयबहादुर चौधरीका अनुसार चैनपुर सौर्य लिफ्ट खानेपानी आयोजना ७४ लाख ४० हजार ७४५ रुपियाको लागतमा निर्माण सम्पन्न भएको हो । उक्त लागतमध्ये नेपाल रेडक्रस सोसाइटीको ४० लाख ९३ हजार ५१९ रुपियाँ, सुनकोसी गाँउपालिकाको १४ लाख ९८ हजार ४२८ रुपियाँ सहयोग रहेको छ । त्यस्तै उपभोक्ताको १८ लाख ४८ हजार ४९८ रुपियाँ बराबरको जनश्रमदान छ ।
त्यस्तै, तीनखोप्रे सौर्य लिफ्ट खानेपानी आयोजना एक करोड पाँच लाख ८४ हजार ६६७ रुपियाँको लागतमा निर्माण भएको हो । उक्त लागतमध्ये नेपाल रेडक्रस सोसाइटीको ७२ लाख ५८ हजार ६८३ रुपियाँ, सुनकोसी गाँउपालिकाको १७ लाख ७२ हजार १८३ रुपियाँ सहयोग छ । त्यस्तै उपभोक्ताको १४ लाख पाँच हजार ४०४ रुपियाँ बराबरको जनश्रमदान रहेको उहाँले बताउनुभयो ।

योजनाको दिगोपनाका लागि दुबै खानेपानी आयोजनाका उपभोक्ताले प्रत्येक घरबाट एक हजार रुपियाँका दरले नगद सङकलन गरी मर्मतसम्भार कोष स्थापना गरेको बताएका छन् । मर्मतसम्भार कोषमा भएको रकम बराबर नेपाल रेडक्रस शाखाले थपिदिएको परियोजना संयोजकले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्