विराटनगर । मोरङको बुढिगंगा–५ का १४ वर्षीय बालक निश्चल राय मृत्युको घटना अनुसन्धानमा चासो नदिएको भन्दै अलिख नेपाल ट्रेड यूनियन महासंघ प्रदेश १ समितिले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ । ट्रेड यूनियन महासंघले शुक्रबार मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई घटनाको अनुसन्धानलाई तिव्रता दिन माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
कार्तिक २२ गते घर आसपासबाट वेपत्ता भएका मृतक रायको शव दुईदिन पछि नजिकै खोलामा फेला परेको थियो । त्यस बीचमा आफन्तले खोजी गरिदिन प्रहरीमा निवेदन समेत दिएका थिए । घटनापछि अनुसन्धान प्रभावकारी नभएको, पोष्टमार्टम रिपोर्ट अझैसम्म सार्वजानिक नगरिएको भन्दै पीडित परिवारकोतर्फबाट महासंघले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख जनार्दन जिसीलाई भेटेर गुनासो गरेको छ ।
महासंघ प्रदेशका सह–इन्चार्ज ओपेन्द्र रायका छोरा निश्चलको हत्या भएको दावी परिवार, छरछिमेक गर्दै आएको छ । प्रहरीले घटनाको अनुसन्धान प्रक्रिया जारी रहेको र संलग्न पहिचान गर्ने विभिन्न काम भईरहेको बताएको छ ।