९० प्रतिशतभन्दा बढीमा मतदान

९० प्रतिशतभन्दा बढीमा मतदान

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्रको चुनावी परिणाम आउने क्रम जारी छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले १३ जिल्लाबाट मत परिणाम आएको बताउनुुभयो । तर, जिल्ला–जिल्लाबाट प्राप्त विवरणमा १९ जिल्लामा क्षेत्रीय अधिवेशन सकिएको छ ।

“ललितपुर, झापा, इलाम, खोटाङ, कास्की, चितवन, मकवानपुर, नुवाकोट, पाल्पा, स्याङ्जा, अर्घाखाँची, कञ्चनपुर र डोल्पामा प्रदेश सभा अधिवेशन सम्पन्न भई नेतृत्व चयन गरिएको छ,” संयोजक यादवले गोरखापत्रसँग भन्नुभयो । त्यसैगरी, पाँचथरमा प्रदेश ‘क’को प्रदेश सभाको चुनावी परिणाम घोषणा भएको छ । पाँचथर प्रदेश सभा ‘ख’को परिणाम आइतबार बिहान आउनेछ । कास्कीका ६ वटै प्रदेश सभा क्षेत्र, गुल्मीका चारवटा, लमजुङका दुईवटा, म्याग्दीका दुईवटा र दैलेखका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रदेश सभा अधिवेशन सम्पन्न भएको छ ।

केही जिल्लामा प्रदेश सभा अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । “अधिवेशन सम्पन्न भएका केही जिल्लामा आइतबारबाट मतगणना हुने र केही जिल्लामा मतगणना सुरु भएको जानकारी हामीलाई प्राप्त भएको छ,” उहाँले भन्नुभयो । केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले प्रदेश सभा अधिवेशनमा केही क्षेत्रमा निर्विरोध नेतृत्व चयन भए पनि ९० प्रतिशतभन्दा बढी क्षेत्रमा मतदानबाटै नेतृत्व छनोट गरिएको बताउनुभयो । “नेपाली काँग्रेसको साङ्गठानिक संरचना ठूलो छ, प्रतिस्पर्धाका लागि योग्य उम्मेदवार धेरै हुनुहुन्छ, त्यसैकारण लोकतान्त्रिक विधि र प्रक्रियाबाट झन्डै ९० प्रतिशत प्रदेश सभा क्षेत्रमा नेतृत्व छानिएको छ,” श्रेष्ठले भन्नुभयो ।

यसअघि, वडाधिवेशन सम्पन्न भएका जिल्लामा ९० प्रतिशतभन्दा बढी नेतृत्व सहमतिमै चयन गरिएको जानकारी श्रेष्ठले दिनुभयो ।यद्यपि, प्रदेश सभा अधिवेशनमा नेता–कार्यकर्ताका उत्साहजनक सहभागिता रहेको जानकारी उहाँले दिनुभयो । हिमाली जिल्ला रसुवा र सिन्धुपाल्चोकमा प्रदेश सभा अधिवेशनका लागि आगामी मङ्सिर ८ गतेको कार्यतालिका तय गरिएको छ ।

ओखलढुङ्गामा प्रदेश सभाको अधिवेशन शनिबार सुरु भएको छ । काँग्रेस ओखलढुङ्गा सभापति प्रदीपकुमार सुनुवारले शनिबार मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशित गरिएको बताउँदै आइतबार मतदान हुने जानकारी दिनुभयो ।
सर्लाहीमा रोकिएको अधिवेशनमा खटिने निर्वाचन अधिकृत तय गर्न जिल्लाका नेताहरू काठमाडौँ आउनुभएको छ । निर्वाचन अधिकृतले राजीनामा दिएपछि नयाँ निर्वाचन अधिकृत तोक्ने विषयमा छलफल गर्न जिल्लाका नेताहरू काठमाडौँ आएको काँग्रेस सर्लाही जिल्ला सभापति नागेन्द्रकुमार रायले बताउनुभयो । नेपाली काँगेसको १४औँ महाधिवेशन आगामी मङ्सिर २४, २५ र २६ गते काठमाडौँमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्