काँग्रेस निर्वाचनः कपिलवस्तुको छ प्रदेश क्षेत्रमा नेतृत्व चयन

काँग्रेस निर्वाचनः कपिलवस्तुको छ प्रदेश क्षेत्रमा नेतृत्व चयन

नारद कोहार
तौलिहवा । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत कपिलवस्तुको छ प्रदेश क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ । पाँच क्षेत्रमा मतदान भएकोमा एक क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको थियो ।

शुक्रबार सुरु भएको पाँच क्षेत्रीय अधिवेशनको परिणाम शनिबार अबेर सार्वजनिक भएकाे थियाे। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ अन्तर्गत प्रदेश क्षेत्र ‘ख’मा सर्वसम्मत नेतृत्व चयन भएको हो । निर्विरोध निर्वाचित हुने क्षेत्रीय सभापतिमा मुक्तेश्वर मिश्र रहेका छन् ।

क्षेत्र नं ३ अन्तर्गत प्रदेश क्षेत्र ‘क’मा गोविन्दबहादुर खत्री निर्वाचित भएका छन् । खत्री २३७ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उहाँका प्रतिस्पर्धी देवराज भारतीले ३८ मत प्राप्त गरेका थिए । सो क्षेत्रमा २९६ क्षेत्रीय प्रतिनिधि रहेकोमा २७५ मत खसेको जिल्ला निर्वाचन अधिकृत घनश्याम पन्तले जानकारी दिनुभयाे ।

त्यस्तै, क्षेत्र नं २ अन्तर्गत प्रदेश क्षेत्र ‘क’मा रघबेन्द्र सिंह निर्वाचित भएका छन् । सिंह २५८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उहाँका प्रतिस्पर्धी राम प्यारे यादवले ८५ मत प्राप्त गरेका थिए । कपिलबस्तु क्षेत्र नम्बर २ प्रदेश (ख)को सभापतिमा गिरिजेशकुमार पाण्डेय निर्वाचित भएका छन् । पाण्डेय १४६ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उहाँका प्रतिस्पर्धी रुद्रबहादुर गैरे(प्रकाश) ले १३० मत प्राप्त गर्नुभयाे। पराजित गैरे कपिलबस्तु नगरपालिका वडा नं. ३ का वडाध्यक्ष हुनुहुन्छ भने निर्वाचित भएका पाण्डेय यशोधरा गाँउपालिकाको अध्यक्ष हुनुहुन्छ।

त्यस्तै, कपिलवस्तुको क्षेत्र नं. १ काे प्रदेश सभा (क) को सभापतिमा बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगलप्रसाद थारु पराजित हुनुभएकाे छ । नगर प्रमुख थारुलाई उहाँका प्रतिस्पर्धी दुर्गा केसीले ४० मतअन्तरले पराजित गर्नुभएकाे हाे । थारु निवर्तमान वाणगंगा नगर सभापति समेत हुनुहुन्छ।

वाणगंगा नगरपालिकाको ओदारी माविमा शनिबार भएको निर्वाचनमा प्रदेश सभा (क) मा ३४३ जना क्षेत्रीय प्रतिनिधिले मतदान गरेकाेमा ३३६ मत सदर भएको थियो ।

क्षेत्र नं १ अन्तर्गत प्रदेश क्षेत्र ‘ख’मा वलिउद्धिन मुसलमान निर्वाचित हुनुभयाे । मुसलमान १३४ मत प्राप्त गरी निर्वाचित हुनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी परमेश्वर पाठक (सिडियो)ले ११८ मत प्राप्त गर्नुभयाे । कुल २५८ क्षेत्रीय प्रतिनिधि रहेकोमा २५६ मत खसेकोमा तीन मत बदर भएको मतदान अधिकृत हरिद्धार कुर्मीले बताउनुभयो ।

मतदान गर्दै लुम्बिनी प्रदेश ग्रामीण एवं शहरी विकास राज्य मन्त्री रिना नेपाल । तस्विरः नारद कोहार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्