दूधकोसी जलविद्युत्को विस्तृत इन्जिनियरिङमा ढिलाइ

<span class='c1'>दूधकोसी जलविद्युत्को विस्तृत</span> <span class='c2'>इन्जिनियरिङमा ढिलाइ</span>

काठमाडौँ । आकर्षक र तुलनात्मक रूपले सस्तो लागत भनिएको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजना विस्तृत इन्जिनियरिङ अध्ययनको काम निर्धारित समयमा पूरा नहुने देखिएको छ ।

यससँगै निर्माणका लागि निर्धारित लक्ष्य पनि पूरा नहुने देखिएको छ । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सोही आवमा निर्माण थाल्ने भनिएको थियो ।कोरोना महामारीका कारण परामर्शदाताले काम गर्न नसक्नु र सरकारीस्तरमा पर्याप्त ध्यान पुग्न नसक्दा आयोजना निर्माणका पूर्वतयारीका काम समयमा पूरा हुन नसकेको हो । आयोजनाको विस्तृत इन्जिनियरिङ लागि दुई पटक थपिएको समय पनि मङ्सिर १५ मा सकिँदै छ ।

आयोजना प्रमुख वसन्त श्रेष्ठका अनुसार अध्ययनका लागि अझै करिब तीन महिना थप गर्नुपर्ने देखिएको छ । ६३५ मेगावाट क्षमताको जलाशययुक्त सो आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययनको काम इटालेली ठेकेदार कम्पनी ईएलसी इलेक्ट्रो कन्सल्टले गरिरहेको छ ।
“कोरोना महामारीका कारण लामो समय उनीहरू इटालीमै रहे यहाँ काम गर्न पाएनन्,” उहाँले भन्नुभयो, “अहिले काममा खटिइरहेका छन् तर केही सहायक अध्ययनका लागि जनशक्तिको व्यवस्थापन गर्न सकेको छैनन्, अब तीन महिनामा सबै काम सक्ने भनेका छन् । ” वातावरणीय अध्ययन प्रतिवेदन भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बुझाइसकेको उहाँले जानकारी दिनुभयो ।

पूर्वऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यो आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राखेर काम अगाडि बढाउने बताउनुभएको थियो तर अहिलेसम्म पनि यो आयोजना प्राथमिकताको सूचीमा परेको छैन ।आयोजनाको वित्तीय व्यवस्थापन पनि अन्तिम चरण पुगेको आयोजनाले जनाएको छ । आयोजनामा स्वपुँजी २० प्रतिशत र ८० प्रतिशत ऋण हुने तय गरिएको छ । सो प्रस्ताव पनि अर्थ मन्त्रालयमा पुगेको छ तर अन्तिम निधो भइसकेको छैन । आयोजनामा स्वपुँजी सरकार तथा नेपाल विद्युत् प्राधिकरणको हुने प्रस्ताव गरिएको छ ।

ऋणका लागि एसियाली विकास बैङ्कको नेतृत्वमा एआईबी, एआईईबी र कोरियन एक्जिम बैङ्कले सहवित्तीयकरणको मोडालिटीमा लगानी गर्ने विषयमा छलफल चलिरहेको श्रेष्ठको भनाइ छ । उहाँका अनुसार सहुलियत पूर्ण ऋणमा दातृ निकाय र स्वेदशी वित्तीय संस्थाको व्यावसायिक ऋण परिचालन गर्ने अवधारणामा लगानी जुटाउने सोच बनाइएको छ ।

सरकारले गत असार २२ गते सार्वजनिक सूचनामार्फत आवश्यक पर्ने जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको छ । आयोजनाबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको तीन हजार ८७६ हेक्टर जमिन प्रभावित हुने आकलन छ । यसमध्ये जिल्ला प्रशासन कार्यालय खोटाङले रावाबेँसी र ऐँसेलुखर्क गाउँपालिकाका प्रभावित जग्गा अधिग्रहण गर्न रोक्का सूचना सार्वजनिक गरेको छ ।

कार्यालयले खोटाङको रावाबेँसी गाउँपालिकाका छवटा वडा र ऐँसेलुखर्क गाउँपालिकाका तीनवटा वडाअन्तर्गतका पूर्ण तथा आंशिक रोक्कामा पर्ने कित्ता र जग्गाधनीको विवरण सार्वजनिक गरेको हो । सूचनाअनुसार रावाबेँसी–१ का ५८६ कित्ता र २ का १०८९ कित्ता, ३ का १७४, ४ का २३३० कित्ता जग्गा अधिग्रहण प्रयोजनका लागि रोक्का राखिएको छ । त्यसैगरी वडा नं. ५ का ३०५४ र ६ का ८२१ कित्ता जग्गा रोक्कामा परेका छन् । पूर्ण तथा आंशिक रूपमा करिब १२ हजार रोपनी जग्गा रोक्का गरेर मुआब्जा वितरण प्रक्रिया थालिएको हो ।

जमिन, भौतिक संरचना तथा अन्य सम्पत्तिमा पर्ने असरबाट दुई हजार ५०० घरधुरीलाई भौतिक तथा आर्थिक प्रभाव पर्ने आयोजनाले जनाएको छ । बाँध क्षेत्र तथा विद्युत्गृहको संरचनाका कारण खोटाङको रावाबेँसी, एँेसेलुखर्क र हलेसी तुवाचुङ प्रभावित हुने देखिएको छ भने ओखलढुङ्गाको चिसङ्खुदी, सोलुखुम्बुको नेचासल्यान र थुलुङ दुधकौसिका गाउँपालिका प्रभावित हुनेछन् । आयोजनाका बाँधकै करण ९२० हेक्टर जमिन डुबानमा पर्नेछ । यसबाट एक हजार ५३१ मिलियन घनमिटर क्षमताको ताल बन्नेछ । बाँध खोटाङको बसेरी र ओखलढुङ्गाको बसौरेको बीचमा बनाउने तय भएको छ ।

६३५ मेगावाट क्षमताको आयोजनाको दुईवटा विद्युत्गृह बनाइनेछ । एउटा ३५ मेगावाट बाँध नजिकै बन्नेछ । अर्को ६०० मेगावाटको भूमिगत विद्युत्गृह सुनकोसीको किनार हलेसी तुवाचुङ–८, धितुङमा बनाइनेछ । विद्युत्गृहसम्म पानी पु-याउन १३.४ किलोमिटर लामो सुरुङ बनाउनुपर्ने हुन्छ ।
ढिलाइ गर्दा आकर्षक र ठूलो मानिएको यो आयोजनाको लागत बढ्दै जाने र अन्य विभिन्न व्यवधान उत्पन्न हुन सक्ने उहाँको भनाइ छ ।

पछिल्लो आकलनअनुसार आयोजना निर्माणका लागि ब्याजबाहेक एक अर्ब ५३ करोड अमेरिकी डलर लागत लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्