मोरङको विराट मेडिकलमा पहिलोपटक ६५ बर्षीया वृद्धाको सफल हिप जोर्नी प्रत्यारोपण

मोरङको विराट मेडिकलमा पहिलोपटक ६५ बर्षीया वृद्धाको सफल हिप जोर्नी प्रत्यारोपण

विराटनगर । मोरङको बुढीगंगा–२ स्थित विराट मेडिकल कलेजले ६५ बर्षीया वृद्धाको सफल हिप जोर्नी प्रत्यारोपण गरेको छ ।

अस्पतालले पुर्वमै पहिलोपटक ६५ बर्षीया गंगादेवी कार्कीको सफल जोर्नी प्रत्यारोपण गरेको हो । प्रदेश १ को भोजपुर बस्ने कार्की करिब ६ वर्ष यतादेखि सहजै हिँडडुल गर्नसक्ने अवस्थामा थिईनन् । अरुको सहायताले हिँडडुल गर्नुपर्ने अवस्था थियो । यसअघि अन्य विभिन्न ठाउँमा उपचार गराएकी उनीले समस्याबाट छुटकारा पाउन सकेकी थिईनन् । तर, चेकजाँचका क्रममा गतवर्ष विराट मेडिकल कलेज आएपछि चिकित्सकको सल्लाह बमोजिम यसपटक उनीले अस्पतालमा उपचार गराएकी हुन् । अस्पतालले उनको खुट्टाको हिप जोर्नी प्रत्यारोपण गरिदिएको छ । हाल उनी सहजै हिँडडुल गर्नसक्ने भएकी छन् । ‘म पुनः हिँडछु जस्तो लागेकै थिएन,’ आवर विराटनगरसँग कुरा गर्दै उनीले भनिन्, ‘अहिले जोर्नी प्रत्यारोपण गराएपछि पुनः हिँड्नसक्ने भएकी छु ।’

चेकजाँचको क्रममा गतबर्ष डाक्टरले नै उपचार सम्भव छ भनेर विश्वास दिलाएपछि उपचारका लागि आमालाई विराट मेडिकल ल्याएको छोरा सुमन कार्कीले बताए । उनले अन्य अस्पतालमा उपचार खर्चपनि धेरै लाग्ने भएकाले चित्त नबुझेर पनि विराट मेडिकल कलेज रोजेको जानकारी दिए । ‘डाक्टरको परामर्शबाट प्रभावित भएर आमाको जोर्नी प्रत्यारोपण गराईयो । हाल अस्पतालको उपचारबाट सन्तुष्ट छौं,’ उनले भने, ‘दुखाईको औषधी खाएर बस्नुभन्दा उपचार गराउनु नै बेस ।’

विराट मेडिकल कलेजले जोर्नी प्रत्यारोपण गरेको यो पहिलोपटक होईन् । अस्पतालले यसअघि पनि जोर्नीको सफल प्रत्यारोपण गरेको छ । तर, ६५ बर्षको उमेर समुहमा सफल हिप प्रत्यारोपण प्रदेश १ मै पहिलो रहेको अस्पतालका हाडजोर्नी तथा नशारोग बिशेषज्ञ डा. राजन पन्थीले बताए । उनले भने, ‘हालै उपचार गराउनुभएको आमाको देब्रेपट्टिको खुट्टा ४५ डिग्री फिक्स भएर बसेको थियो । न माथि जाने, न तल आउने अवस्थामा थियो । जोर्नी प्रत्यारोपण गरेपछि हाल सो समस्या छैन् ।’

बिशेषगरि ५५ वर्षमाथिको उमेर समुहमा यो समस्या देखिने गरेकाले दुखाईको औषधी खाएर बस्नुभन्दा समयमै उपचार गराउनु उपयुक्त हुने अस्पतालका अर्का हाडजोर्नी तथा नशारोग बिशेषज्ञ डा. अजय महतोको सुझाव छ ।

नेपाली समाजमा अहिले पनि बुढापाका भएपछि हाडजोर्नी, नशा तथा हिँडडुलमा असहज लगायतका समस्या भईहाल्छ भन्ने मानसिकताका कारण धेरै बिरामीहरु उपचारका दायरामा आउन सकेका छैनन् । उपचार गराएपनि निको नहुने मानसिकताले पनि धेरै वृद्धवृद्धा तथा ज्येष्ठ नागरिकहरु भने हालसम्म उपचारबाट बञ्चित छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्