आफैंले खुकुरी हान्न लगाएर साझेदारलाई दोष, योजनामा घटना घटाइएको प्रतिवादीको बयान

आफैंले खुकुरी हान्न लगाएर साझेदारलाई दोष, योजनामा घटना घटाइएको प्रतिवादीको बयान

विराटनगर । मोरङको कटहरी गाउँपालिका–६ स्थित राजधानी इटा उद्योगका संचालक कलामसिंह लामामाथि भएको खुकुरी प्रहार उनकै योजनामा गराइएको आरोपीले अदालती बयान दिएपछि घटनाको अनुसन्धानमा आशंका सिर्जना भएको छ ।
गत असोज १० गते उच्च अदालत विराटनगरको प्रवेशद्वारमा लामामाथि विराटनगरका बिमल कार्कीले खुकुरी प्रहार गरेर घाइते बनाएका थिए । घटना भएकै दिन पक्राउ परेका कार्कीले अदालतमा लामाकै योजना अनुसार उनलाई आफूले खुकुरी हानेको अदालतमा बयान लेखाएका हुन् ।

साझेदारसँगको आर्थिक लेनदेन मिलाउन नचाहेका लामाले आरोपी कार्कीलाई नियोजित घटना सिर्जना गर्न उक्साएको अदालतमा दिएको बयानबाट खुलेको छ । राजधानी इटा उद्योगका संचालक धनपालथान गाउँपालिका १ का ५० वर्षिय मो. साजिद मियाँ र कार्कीको खुकुरी प्रहारबाट घाइते भएका लामा औद्योगिक साझेदार हुन् ।
दुई साझेदारबीचको कारोबारमा लामाले मियाँलाई रकम दिनुपर्ने देखिएको थियो । त्यहि रकम दिने समय नजिक आईरहेका बेला लामालाई कार्कीले खुकुरी हानेका थिए । घटनामा खुकुरी हान्ने कार्की, उद्योगका सञ्चालकमध्येका मियाँसहित रमेश राजवहाक, नेत्र भटराई, सुरेश विश्वकर्मा र अजय भन्ने महका सहनीको संलग्नता रहेको लामाको किटानी जाहेरीका आधारमा प्रहरीले अनुसन्धानका क्रममा प्रतिवादी बनाएको थियो । लामाको दावीका आधारमा प्रहरीले खुकुरी हान्ने कार्की र अर्का साझेदार मियाँलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएसँगै जिल्ला अदालत मोरङमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो । अदालतको आदेश अनुसार कार्की र मियाँ पूर्पक्षका लागि थुनामा छन् । तर, प्रतिवादीमध्येका मुख्य कार्कीले अदालतमा दिएको बयानमा आफूले मियाँलाई नचिन्ने र लामाले छलकपट गर्न योजनावद्ध रुपमा घटनामा संलग्न गराएको बयान अदालतमा दिएपछि पीडक भनिएको पक्षले उच्च अदालतको सहारा लिएका छन् ।
प्रतिवादीका आफन्तले जिल्लाको आदेश बदर गरि साधरण तारेखमा छोडन माग राख्दै कार्तिक २५ गते उच्च अदालतमा ७३ नम्बर गरेका हुन्् । अदालतमा विचाराधिन रहेको मुद्दामा आरोपीले दिएको बयानलाई लिएर घटना योजनावद्ध रहेको र आर्थिक लेनदेन टार्न घटाइएको दावी गरिएको छ ।

अभियोग दर्ता भएपछि २२ कार्तिकमा मोरङ अदालतका न्यायाधीश किशोर घिमिरेको इजालशमा प्रतिवादी कार्कीले आफु एक्लैले लामालाई खुकुरी प्रहार गरेको र उनको योजनाअनुसार प्रहार गरेको बयान लेखाएका हुन् । इजालमा सवालजवाफको क्रममा ‘तपाइले घाइते कलाम सिंह लामालाई ज्यान मार्ने नियतले खुकुरी प्रहार गरी ज्यान मार्ने उद्योगको कार्य गरेको हो÷होइन् ? खुलाइ दिनुहोस्, भनेर सोधिएको सवालमा प्रतिवादी कार्कीले भनेका छन्, ‘मैले कलामसिंह लामालाई एकचोटी खुकुरी प्रहार गरेको हो । मलाई खुकुरी प्रहार गर्न निजले नै लगाएका हुन् । म एक्लैले निजलाई खुकुरी प्रहार गरेको हो ।’ लामाको दावी अनुसार खुकुरी हान्न लगाएको भनिएका मोहमद साजिद मियाँलाई आफुले नचिन्ने कार्कीले बयानमा लेखाएका छन् ।

घाइते लामा र प्रतिवादी बनाएको मियाँ राजधानी इटा उद्योगका साझेदार हुन् । उनीहरुको उद्योगको सेयर विवादको विषयमा झगडा हुने गरेको थियो । त्यहि विवाद स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसम्म समेत छलफल भईसकेको थियो । लामाले मियाँलाई झुक्याएर रकम अपचलन गरेको आरोप छ । त्यहि रकम फिर्ता दिनुपर्ने समय नजिक रहेका बेला प्रायोजित घटना घटाइएको भन्दै प्रतिवादी बनाइएका पक्षले उच्च अदालत विराटनगरमा जिल्लाको आदेश बदरको माग राखेका छन् । प्रतिवादी बनाइएका मियाँसहित अन्य पीडित भएकोले भन्दै आफन्तले घटनामा प्रहरीको फितलो अनुसन्धान भएको आरोप लगाएका छन् ।
विराटनगरमा केहि वर्ष अगाडी धर्मगुरु आचार्य श्रीनिवासले समेत आफ्नै सहयोगीलाई गोली हानेर चर्चा कमाउने धन्दा गरेको घटना घटेको थियो । उक्त घटनालाई प्रहरीले अनुसन्धान गरेपछि श्रीनिवास र उनका सहयोगी पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्