चार दिनदेखि मालपोतमा सामान्य बाहेकको काम ठप्प

चार दिनदेखि मालपोतमा सामान्य बाहेकको काम ठप्प

नरेन्द्र ढकाल
गोरखा । बिगत चार दिन यता मालपोत कार्यालय गोरखामा अहिले काम ठप्प प्राय छ । सामान्य जग्गा रजिष्ट्रेशन र धितोपत्र बन्धकको कामबाहेक अन्य काम हुन नसकेको कार्यालयले जनाएको छ । केही समयअघि जिम्मेवारी सम्हालेका प्रमुख मालपोत अधिकृत बासुदेव खतिवडा विशेष कामले जिल्ला बाहिर रहनुभएको छ ।

जसअनुरुप आइतबारदेखि जग्गा नामसारीको काम रोकिएको सूचना अधिकारी दिपक गुरुङले बताउनुभयो । ‘जग्गा रजिष्ट्रेशन तथा धितोबन्धक लिखितसम्मको काम हामी नायब सुब्बाले गर्न मिल्छ । त्यो रोकिएको छैन,’ उहाँले भन्नुभयो, ‘मुद्दासँग सम्बन्धित काम, जग्गा नामसारी यस्ता नीतिगत प्रकृतिका कामहरु मालपोत अधिकृत तथा प्रमुख मालपोत अधिकृतले नै गर्नुपर्ने हुन्छ ।’

प्रमुख मालपोत अधिकृतसहित तीन जना मालपोत अधिकृतको दरबन्दी रहेको यहाँ दुईवटा पद लामो समयदेखि रिक्त छ । कर्मचारी नभएपछि गाउँ–गाउँबाट सेवा लिन आएकाहरु रित्तै फर्कनुपरेका छ । ‘बुबा बित्नु भयो उहाँको नाममा रहेको जग्गा हामी दाजुभाइहरुले अंशवण्डा गरेर नामसारी गर्नआएको हाकिम छैन काम हुँदैन भनेर फर्कादिनुभयो,’ मालपोत परिसरमा भेटिनु भएका भीमबहादुर गुरुङले भन्नुभयो, ‘एउटा भाइ बिदेशमा थियो, आएकोबेला बल्लबल्ल दाजुभाइ जुटेर आएको अब फेरि कहिले जुट्ने ?’

यता प्रमुख मालपोत अधिकृत खतिवडाले पनि कर्मचारी नहुँदा काम प्रभावित भएको स्वीकार गर्नुभयो । ‘तीन जना अधिकृतको दरबन्दीमध्ये अहिले म मात्र छुँ । मेरो पनि बाध्यताहरु हुन्छन्,’ उहाँले थप्नुभयो, ‘अहिले काम रोकिएको साँचो हो, कम्तिमा दुई जना अधिकृत त हुनुप¥यो, एक जनाले मात्र कसरी काम गर्न सकिन्छ ?’

दरबन्दीअनुसार कर्मचारी पठाउन बारम्बार ताकेता गर्दा पनि मन्त्रालय र विभागले नसुनेको खतिवडाले गुनासो गर्नुभयो । ‘म कात्तिक २२ गते यहाँ हाजिर भएको हुँ, आएदेखि नै कर्मचारी फुलफिल गराउन पहल गरिरहेका छु,’ उहाँले भन्नुभयो ।

२७ जनाको दरबन्दी रहेको मालपोत कार्यालय गोरखामा अहिले १० जना स्थायी र ५ जना अस्थायी गरी १५ जना मात्र कार्यरत रहनुभएको छ । तीमध्ये सात जना कार्यालय सहयोगी मात्र हुन् । लामो समय प्रमुख मालपोत अधिकृतबिहिन बनेको उक्त कार्यालय कात्तिक २२ गते अघिसम्म नायव सुब्बाको भरमा पनि चलेको थियो ।

यस अघिका मालपोत अधिकृत देवेन्द्र थापाले नै प्रमुख मालपोत अधिकृतको जिम्मेवारी निभाउनुभएको थियो । उहाँ गएपछि सो ठाउँमा अर्का अधिकृत नआएकाले नायव सुब्बा शर्मालाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएको थियो । अहिले उहाँको पनि सरुवा भइसकेकाले रमना लिएर जाने तरखरमा रहनुभएको छ । अधिकारी गएपछि ६ जना नायव सुब्बाको दरबन्दी रहेको मालपोत कार्यालयमा अहिले गुरुङ मात्र रहनु हुनेछ ।

सात जना खरिदारको दरबन्दी रहेकोमा अहिले तीन जनाले मात्र सेवा दिइरहनुभएको छ । अन्य एक जना तालिममा हुनुहुन्छ । तीन वटा दरबन्दी रिक्त रहेको मालपोत कार्यालयले जनाएको छ । दुई वटा कम्प्युटर अपरेटरको दरबन्दीमा करारबाट परिपूर्ति गरिएको छ । अहिले डिजिटल प्रविधिमा काम गरिरहेको मालपोतले दरबन्दीअनुसार कर्मचारी उपलब्ध नभएपछि करारमा राखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्